प्रभावकारी बन्दै धनगढीको ‘आमा बचाऔं’ अभियान
धनगढी । कैलाली धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘आमा बचाऔं’ अभियान प्रभावकारी बनेको छ । यो उपमहानगरपालिकाले २०७९ मङ्सिर २१ गतेबाट सुरु गरेको यो अभियानको सुरुवात गरेको हो ।
हालसम्म ६१८ जना महिला लाभान्वित
‘आमा बचाऔं’ अभियानबाट हालसम्म ६१८ जना महिलालाई सेवा दिएको धनगढी उपमहानगरपालिकाले जनाएको छन् । आमा र शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै सुरु गरिएको ‘आमा बचाऔं’ अभियानको अभियानको सुरुवात गरिएको हो ।
यो अभियानअन्तर्गत गर्भवती, प्रसव र सुत्केरी अवस्थाका महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिइँदै आएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए ।
उनका अनुसार आमा बचाऔं अभियानमा गर्भवती, प्रसव र सुत्केरी अवस्थाका महिलालाई अस्पतालसम्म पुर्याउन उपमहानगरपालिकाले चार एम्बुलेन्सबाट सेवा दिइरहेको छ । एम्बुलेन्स प्रयोग गरे बापत कुनै शुल्क लाग्दैन् ।
गर्भवती, प्रसव र सुत्केरी अवस्थाका महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले आमा बचाऔं अभियान सञ्चालनमा ल्याइएको हो ।
आमा बचाऔं अभियानमा उपमहानगरपालिकाले एउटा एम्बुलेन्स आफैँले सञ्चालन गरिरहेको छ भने तीन एम्बुलेन्स वडा नम्बर १६, १८ र १९ बाट सञ्चालन भइरहेका छन् । अभियानअन्तर्गत रहेको निःशुल्क एम्बुलेन्स सेवाबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुन थालेको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अवस्थीले भने– ‘ग्रामीण क्षेत्रमा अस्पतालसम्म पुग्न सवारीसाधन पाइँदैन । त्यसैलाई मध्यनजर गरी यो अभियान सञ्चालन गरिएको हो । यसबाट ग्रामीण क्षेत्रका महिलालाई धेरै राहत भएको छ ।’
निःशुल्क एम्बुलेन्स सेवा भएपछि प्रसूति सेवाका लागि अस्पताल लैजानुपर्ने महिलालाई निकै सहज भएको वडा नम्बर १६ का वडाध्यक्ष रामलाल चौधरीले बताए । ‘ग्रामीण क्षेत्र भएकाले अन्य सवारीसाधन पाउन पनि कठिन हुन्छ,’ वडाध्यक्ष चौधरीले भने, ‘कसैसँग अस्पताल पुग्ने भाडा समेत हुँदैन । निःशुल्क एम्बुलेन्स सेवा हुँदा धेरै सहज भएको छ ।’
ग्रामीण क्षेत्रका महिलाको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर आमा बचाऔं अभियान सुरु गरिएको धनगढी नगरप्रमुख गोपाल हमालले बताए ।
‘ग्रामीण क्षेत्रमा सवारीसाधन नपाउने, प्रसूति सेवाका लागि गोरुगाडा, ट्रयाक्टरमा अस्पताल ल्याउनुपर्ने अवस्था छ,’ नगरप्रमुख हमालले भने, ‘त्यसले गर्दा आमा र शिशुको ज्यान जोखिममा हुने भएकाले उहाँहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै आमा बचाऔं अभियानअन्तर्गत निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको हो ।’
अभियानलाई वडाको माग अनुसार विस्तार गर्दै लैजाने नगरप्रमुख हमालको भनाई छ ।
The post प्रभावकारी बन्दै धनगढीको ‘आमा बचाऔं’ अभियान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/101933/