प्रभु केवलकारले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

काठमाडौँ ।  प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो ।

आईपीओ निष्काशनका लागि प्रभु केबलकारले कुमारी क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । केवलकारको आईपीओ निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौता पत्रमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष भोज कुमार खड्का र कुमारी क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका  हुन् ।

प्रभु केवलकारको लगानीमा तीन वटा केवलकार परियोजनाहरु अगाडी बढेका छन् । जस मध्ये बुटवलमा भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केवलकार परियोजना गत असोज देखि व्यवसायिक रुपमा सञ्चालनमा आईसकेको छ ।

उक्त केवलकारबाट छोटो समयमा नै पचहत्तर भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरुले यात्रा गरि सकेका छन् । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड नै उक्त सिद्धार्थ केवलकार कम्पनीको मुख्य लगानीकर्ता कम्पनी हो । यो केवलकार बुटवल स्थित फुलबारी पार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्दछ । जहाँ राजा मणिमुकुन्द सेनको दरबार, संस्कृतिक डबली, कामना भैरवको मन्दिर, कर्णेल उजीर सिंहको शालिक लगायत विभिन्न पुरातात्विक सम्पदा समेत रहेका छन् ।

त्यस्तै, प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड कम्पनीको लगानीमा सुदुर पश्चिम स्थित बाजुरा जिल्लाको बडीमालिका मन्दिर र चितवनको ईच्छाकामना मन्दिरमा निकट भविष्यमा केवलकार बनाइ सञ्चालन गर्ने कम्पनीको तयारी रहेको छ । यस कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादन मुलक उद्योग र साहासिक पर्यटनमा समेत लगानी गर्दै दोस्रो बजारमा राम्रो उपस्थिति जनाएको छ ।

 

Source : https://arthasarokar.com/2024/11/prabhu-kevalkar-appoints-kumari-capital-as-sales-manager-for-ipo-issue.html



Related Posts