प्रेमीलाई आफ्नो बैंक खाता विवरण दिँदा यसरी जेल पुगिन् अनु

काठमाडौं । प्रेमीलाई आफ्नो बैंक खाता विवरण दिँदा एक युवती प्रहरी नियन्त्रणमा पुगेकी छिन् । फेसबुकमार्फत चिनजान भएका युवासँग प्रेममा परेकी काठमाडौंकी ३० वर्षीय अनु श्रेष्ठले आफ्नो बैंक खाता विवरण प्रेमीलाई चलाउन दिँदा उनी प्रहरी नियन्त्रणमा पुगेकी हुन् ।

श्रेष्ठकि प्रेमीले उनलाई विभिन्न बैंकमा बैंक खाता खोल्न लगाएका थिए । विभिन्न बैंक खातामध्ये एक खाता उनका प्रेमी आफैँ चलाउँथे । 

उनकी प्रेमीले विभिन्न बैंकमा आफ्नो रकम आएको भन्थे र सो रकम आफुलेसमेत प्रयोग गरेको उनको खातामा हालिदिन भन्थे । श्रेष्ठलाई चाहिने खर्च पनि उनले सोहि खाताबाट निकाल्न भन्थे । तर बुझ्दै जाँदा थाहा भयो, कि उनको खातामा जम्मा भएको रकम ठगीको रहेछ । अहिले यहि प्रकरणमा उनी प्रहरी खोरमा छिन् ।

प्रहरीका अनुसार उनका प्रेमीले फेसबुक र ह्वाट्सएपबाट सर्वसाधारणलाई सम्पर्क गरी विभिन्न देशबाट आईफोन, घडी, लेडिज ब्याग, सुनका गरगहना, र डलरसहितको लगेज कुरियरमार्फत पठाएको छु भन्थे । सो समान पाउन ती युवक कस्टम चार्ज, एन्टी मनी लाउन्ड्रिङमा चार्ज लाग्छ भन्दै जम्मा गर्न बैंक खाता पठाउँथे । उनको झुट थाहा नपाएकाहरु सामान पाउने आशमा उनलाई पैसा पठाईदिन्थे । सो रकम अनु श्रेष्ठको नाममा जम्मा हुन्थ्यो । पछि ठगी केसमा पीडीतहरुले प्रहरीमा उजुरी गरेपछि प्रहरीले बैंकहरुसँग उनको विवरण माग गर्यो । विवरण माग गरेपछि उनको सम्पर्क सुत्र भेटियो, र प्रहरीले उनलाई पक्राउ गर्यो ।   

युवतीले सो घटनामा आफ्नो संग्लनता नरहेको दाबी गरेकी छिन् भने आफुले प्रेमीले भनेकै आधारमा खाता खोलेर सोको पहुँच उनलाई दिँदा फसेको दाबी गरेकी छिन् । ती युवकको भने खोजी भईरहेको प्रहरीले जनाएको छ ।  

Source : https://arthasarokar.com/2024/05/anu.html