फुट्यो वैद्यको पार्टी

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा गम्भीर वैचारिक, राजनीतिक, आर्थिक, सांगठनिक तथा सांस्कृतिक समस्या देखापरेको भन्दै गत वर्ष १८ वैशाखमा भएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र तत्कालीन नेकपा (क्रान्तकारी माओवादी)बीचको एकता भंग घोषणा भएको छ ।

‘पार्टीलाई गुट तथा निहित आर्थिक स्वार्थको बन्दी बनाइयो’

पार्टीका सचिवालय सदस्य समरजंगले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र तत्कालीन नेकपा (क्रान्तकारी माओवादी)बीचको एकता भंग भएको घोषणा गरेका हुन् ।

कार्यक्रममा पार्टीका सचिवालय सदस्य समरजंगले अब सच्चा क्रान्तिकारी कम्युनिस्टहरू एकजुट हुन आवश्यक रहेको बताए । वैज्ञानिक समाजवादी जनक्रान्तिको कार्यदिशामा गोलबन्द हुन उनले सबैमा अपिलसमेत गरेका छन् । पार्टीमा असहमतिपत्र बुझाउनेमा समरजंग, विप्लव, खलिल, हरि श्रेष्ठ, विनोद थापा, शम्भु फुयाँल, नवराज भट्ट, युगान्तलगायत रहेका छन् ।

पार्टीभित्र देखापरेका सबैखाले समस्या हल गर्नका लागि पटकपटक अध्यक्ष मोहन वैद्यसँग छलफल भएको भए पनि निकास निकाल्ने र आन्दोलनलाई गति दिने विषयमा कुनै ठोस पहल नभएकाले आफूहरू अलग हुने निष्कर्षमा पुगेको उनीहरूले जनाएका छन् । उनीहरूले अध्यक्ष वैद्यमाथि जनवादी केन्द्रीयताको उल्लंघन गरेको र पार्टी एकताको नाममा केन्द्रीय कमिटीलाई पंगु बनाएको र गुट तथा निहित आर्थिक स्वार्थको बन्दी बनाएको गम्भीर आरोप लगाएका छन् ।

उनीहरूले अध्यक्ष वैद्यमा रूढीवाद हावी रहेको निष्कर्षसहित अब त्यस विचारले नयाँ क्रान्तिको नेतृत्व गर्न नसक्ने ठोकुवासमेत गरेका छन् । ‘विश्व साम्राज्यवादले सच्चा कम्युनिस्टहरूमाथि चौतर्फी हमला गरिरहेको सन्दर्भमा सर्वशक्तिमान विचारको उच्चतम चरण माओवादलाई लत्याउँदै महान् जनयुद्धलाई ‘सामाजिक फाँसीवाद’, र उग्रवामपन्थी भड्कावको मिथ्या आरोप लगाउँदै जनयुद्धकालमा प्रतिकारमा संलग्न गुटहरूसँग गरिएको कथित पार्टी एकता हाम्रा लागि अस्वीकार्य छ, परन्तु हामी विगतका सम्पूर्ण न्यायपूर्ण आन्दोलनका उपलब्धिको रक्षा, समीक्षा र सच्चा क्रान्तिकारीसँग सहकार्य, कार्यगत एकता र एकताको ढोका बन्द गर्ने पक्षमा भने छैनौं,’ समरजंगलगायतका नेताले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनीहरूले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निरंकुश एवं घोर सामन्तवादी प्रवृत्तिबाट ग्रस्त रहेको पनि आरोप लगाएका छन् ।

The post फुट्यो वैद्यको पार्टी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95321/