फेरि परालको आगो निर्माण हुँदै

काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’मा आधारित रहेर फेरी चलचित्र निर्माण गरिने भएको छ । कथा परालको आगो मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ । यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाको निर्देशनमा चलचित्र बनेको थियो ।

मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई परालको आगो निर्माणको लागि मञ्जुरी दिएको छ । यसपछि निर्माता सुशीलकुमार पोखरेलले चलचित्र परालको आगो निर्माणको घोषणा गरेका छन् । कथाकार मैनालीका छोरा माधवप्रसादले कथाको मर्म नबिग्रने गरी निर्माणको अनुमति दिएको बताएका छन् ।

यतिबेला मौलिक चलचित्र पूर्णबहादुरको सारंगी सर्वाधिक सफलताका साथ प्रदर्शन भईरहेकाले आफुहरुले त्यस्तै मौलिक चलचित्र परालको आगो निर्माण गर्न लागेको निर्माता पोखरेलले बताएका छन् । उनका अनुसार फागुनबाट छायाँकन सुरु हुने यो चलचित्र आगामी दशैंमा रिलिज गरिने भएको छ ।

यो चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गर्दैछन् । चलचित्रको कलाकार चयनमा आफुहरु व्यस्त रहेको सुनारले बताए,‘यतिबेला म चलचित्र कल्लीको निर्माणमा छु । कल्ली सकेर परालको आगो सुरु गर्नेछु ।’ सुनारले भने । परालको आगोमा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ । यसलाई पुरानै परिवेश र शैलीमा निर्माण गरिने पनि निर्देशक सुनारले बताएका छन् ।

The post फेरि परालको आगो निर्माण हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103889/