बैंक, सहकारी पीडितको न्यायका लागि आजपाले कोशी प्रदेशमा कडा आन्दोलन गर्ने

विराटनगर । आम जनता पार्टी (आजपा)का वरिष्ठ उपाध्यक्ष एवं संविधानसभा सदस्य तिलक थापाले बैंक, सहकारी, लघुवित पीडितलाई सरकारले न्याय दिन नसकेको आरोप लगाएका छन् । बैंक, सहकारी तथा लघुवित पीडितलाई सरकारले न्याय दिनुपर्ने माग उनले गरे । सरकारले पीडितको माग सम्बोधनमा ढिलाई गरेको बताउँदै उनले आजपाले न्यायका लागि कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।

मोरंगको उर्लाबारीमा मंगलबार आजपाद्धारा आयोजित बृहत भेलालाई सम्बोधन गर्दै थापाले सरकारले पीडितहरुको माग सम्बोधन गर्नमा ढिलाई गरेकाले अब आन्दोलनको बिकल्प नभएको बताए ।

‘बैंक, सहकारी, लघुवित लगायतका पीडितहरु न्यायको पर्खाईमा रहेका छन् । तर सरकारले सुनेर, बुझेर पनि नसुने जस्तो गर्ने । नबुझे जस्तो गर्ने काम भईरहेको छ’ थापाले भने, ‘तर हामी सरकार जस्तै चुप लागेर बस्न सक्दैनौं । हामी पीडितलाई न्याय दिलाउँनका लागि संघर्ष गर्न तयार छौं । आन्दोलनबाटै पीडितलाई न्याय दिलाउन सरकारलाई हामीले बाध्य बनाउँछौं ।’

आजपाले बैंक, सहकारी, लघुवित पीडितलाई न्याय दिलाउनका लागि संघर्ष गर्दै आएको छ । पछिल्लो समय पीडितहरु न्याय माग गर्दै आएको भए पनि सरकारले उनीहरुको माग सम्बोधनमा चासो नदिएको गुनासो रहेको छ ।

आजपा कोशी प्रदेशका सचिव एवं मोरंग जिल्ला इन्चार्ज गायत्री राईको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नेता, बैंक, सहकारी, वितियसंस्था पीडित, सर्वसधारण लगायतको सहभागिता रहेको थियो ।

आजपाले मधेस प्रदेशमा विद्यार्थीको अनुपातमा विषयगत र तहगत शिक्षकको व्यवस्था गर्नुपर्ने माग सहित आन्दोलनमा रहेको छ । उता काठमाडौं त्रिपुरेश्वर स्थित भन्सार विभाग घेराउ तथा धर्ना दिदै आजपाले भन्सार कानूनमा रहेको लुटकारी व्यवस्थाको अन्त्य हुनुपर्ने माग सहित निरन्तर आन्दोलन गरिरहेको छ ।

हालै आजपाले काठमाडौं सहित बिभिन्न ठाउँमा भ्रष्टाचार, अनियमितता, कुशासनको बिरुद्धमा जनप्रदर्शन गरेको थियो । मुलुकलाई समृद्ध बनाउँनका लागि भ्रष्टाचारको अन्त्य हुनुपर्ने र शासन व्यवस्थामा परिवर्तन हुनुपर्ने माग आजपाले गर्दै आएको आजपा महासचिव त्रिभुवन साहले जनाएका छन् ।

The post बैंक, सहकारी पीडितको न्यायका लागि आजपाले कोशी प्रदेशमा कडा आन्दोलन गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95633/