बौद्धिक अपाङगता भएकाहरुलाई बजेट बिनियोजनको आग्रह

सप्तरी । बौद्धिक अपाङगता भएकाहरुको हकअधिकारका लागि क्रियाशिल बौद्धिक अपाङगता अभिभावक संघ सप्तरीले आवश्यक बजेट बिनियोजन गर्न स्थानीय, प्रदेश तथा संघीय सरकारसँग आग्रह गरेको छ ।

संघको जिल्ला कार्य समितिको मंगलबार राजविराजमा बसेको बैठकले बौद्धिक अपाङगता भएकाहरुको जिवन सहज र हकअधिकारका लागि तीन वटै तहका सरकारसँग आवश्यक बजेट बिनियोजन गर्न यस्तो आग्रह गरेको हो ।

बैठकले बौद्धिक अपाङगता भएका व्यक्तिहरुके हकअधिकार, संरक्षण र सम्बद्र्धनका लागि जिल्लाका १८ वटै पालिकालाई आगामी आर्थिक वर्ष २०८१÷८२ मा बजेट छुट्याउन ध्यानाकर्षण पत्र बुझाउने निर्णय भएको संघका अध्यक्ष जगदीश प्रसाद अर्यालले जानकारी दिए ।

बैठकले राजविराज ६ स्थित बहिरा बालक स्कुल परिसरमा अधुरो अवस्थामा रहेको दिवा तथा आवासीय विद्यालय भवन निर्माण कार्यलाई पूर्णता दिनका लागि मधेश प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ ।

यस्तै बैठकले विद्यालय भर्ना भएका बौद्धिक अपाङगता भएका बालबालिकाको शिक्षा र तालिमका लागि संचालनमा ल्याइएको डे–केयर सेन्टरमा आवश्यक जनशक्तिका लागि शिक्षा मन्त्रालय अन्तरगतको विशेष शिक्षा समितिमा प्रस्तावना पेश गरि बजेट बिनियोजनका लागि अनुरोध गर्ने निर्णय भएको संघका सचिव राधाकान्त झाले जानकारी दिए ।

सप्तरीमा करिब पाँच सयको हाराहारीमा बौद्धिक अपाङगता भएकाहरु रहेको संघले जनाएको छ । अपाङगता भएका व्यक्ति र तिनका अभिभावकहरुद्वारा संचालित संघलाई सबैले सहयोग गर्नुपर्ने बैठकपछि जारि प्रेस विज्ञप्तिमार्फत आग्रह समेत गरिएको छ ।

The post बौद्धिक अपाङगता भएकाहरुलाई बजेट बिनियोजनको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95639/