भत्केको बाटो बन्यो, तर मन भत्किरह्यो

मकवानपुर । दसैं सुरु भइसकेको छ, घरघरमा जमरा हुर्कंदै छन् । ती जमरा सजिने शिर भने घरघरमा भेला भइसकेका छैनन् । विभिन्न नोकरी, पेसा, व्यवसाय, अध्ययनलगायतका लागि घरभन्दा टाढा रहेकाहरू घर फर्कने तयारी गर्दैगर्दा एक्कासि मौसममा आएको फेरबदलले घरसम्मको यात्रा भरपर्दो हुनसकेको छैन ।

दुई साताअघिको भीषण वर्षाका कारण भत्किएका लोकमार्गले यात्रुको यात्रालाई घरसम्म जोड्न सक्ने या नसक्ने अझै टुंगो लागेको छैन । सोही वर्षापछि बाढीपहिरोमा परेर परिवारका सदस्य गुमाएकाहरू र आवास गुमाएकाहरूको मन अझै पीडाले पोलिरहेको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा परेर ज्यान गुमाएका ६ जना बालकको मृत्युपछिको संस्कार चलिरहेको छ । उनीहरूका लागि सरकारले प्रदान गर्ने भनेको राहत रकम कहिले पाउने ठेगान छैन ।

यही बाढीले आफूहरूको उठिबास बनाएपछि बेघर भएकाहरू नजिकिएको दसैंमा मीठो खाने र रमाउने भन्दा पनि बालबालिकाहरूको सुरक्षा गर्दै उनीहरूलाई कहाँ ओत लगाउने भन्ने पीडामा छन् । उनीहरूका लागि आवास व्यवस्थापनको काम पनि बाँकी छ ।

यता, सोही बाढीले ध्वस्त पारेको सडक भने प्रदेश सरकारले सवारी चलाउन मिल्ने बनाएको छ । गत १० र ११ असोजमा भएको वर्षापछि आएको बाढीपहिरोले अवरुद्ध बनेको काठमाडौं–हेटौंडा जोड्ने छोटो दूरीको हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडक एक सातापछि सुचारु भएको हो ।

बस्ती नै सखाप पार्नेगरी आएको बाढीले सडकको निशानासमेत मेटाएको थियो । केही वर्षसम्म बन्ने सम्भावना नै नहुने आँकलन गरिएको सडक, ठाउँठाउँमा डाइभर्सन बनाएर आइतबार साँझबाट सवारी पास गरिएको प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

बाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री अमनकुमार मास्केका अनुसार सडक बगाएको केही दिनपछि मर्मतको काम सुरु गरिएकामा एक साताभित्रै डाइभर्सन बनाएर सवारी सुचारु गर्न मन्त्रालय सफल भएको हो । यो सडक सुचारु भएपछि चाडपर्वका बेला यात्रुलाई हेटौंडा–काठमाडौं आवतजावत गर्न सहज भएको छ ।

‘हामीसँग रहेको सीमित स्रोत र साधनको उपयोग गरेर रातदिन खटिएर दसैंअघि नै हेटौंडा–काठमाडौं आवतजावत गर्ने छोटो दूरीको सडक सञ्चालनमा ल्याउन सम्भव भएको हो,’ भौतिक पूर्वाधारमन्त्री मास्केले भने । सिस्नेरीतर्फको बाटोका लागि खोलाको बगरबाटै अस्थायी ट्र्याक निर्माण गरिएको मास्केले बताए ।

यस क्षेत्रमा ३ किलोमिटर दूरीमा रहेको सिस्नेरी बजारसम्म नै खोलाको बगरबाट ट्र्याक बनाइएको छ । सिस्नेरीको टेकर बजार प्रवेश नगराई बगरबाटै सवारीसाधनहरू सिस्नेरी पुग्नेगरी बाटो बनाइएको हो । सिस्नेरीबाट काठमाडौंतर्फको खण्डमा रहेका ४० वटा पहिरो पन्छाएर मन्त्रालयले सडकमा यातायात सञ्चालनमा ल्याएको उनले बताए ।

चाडपर्वको मुखैमा सडक र बस्ती बगेपछि सडकछेउमा व्यापार व्यवसाय गर्नेहरूलाई पर्वको जोहो गर्नै धौधौ भएको छ, कतिपयका घर नै उठिबास लागेको छ ।

यस क्षेत्रका २८ घर बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सडकमै खोला हिँडेपछि यो सडक स्थानीयले हिउँद लागेपछि मात्रै बन्ला भन्ने सोचेका थिए । तर, सडक भत्किएको साता दिनमै गाडी गुड्न थालेपछि भने केही उत्साह बढेको स्थानीय सानु लामाले बताइन् ।

हेटौंडा–काठमाडौं सडक सम्बन्ध टुटेपछि जनताको सबैभन्दा ठूलो समस्या समाधान गर्नुपर्छ भन्ने लागेर आफैं फिल्डमा खटिएको मन्त्री मास्केले बताए । सडक सञ्चालनमा ल्याउनका लागि इन्द्रसरोवर गाउँपालिकाको फाखेल, सिस्नेरी सडकखण्डमा भएका अवरोध पन्छाउने क्रम प्रदेशको भौतिक मन्त्रालयका मन्त्री मास्केसहित यातायात पूर्वाधार विकास निर्देशनालयको टिम फिल्डमै खटिएको थियो ।

यसैगरी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थप्रसाद चिलुवाल, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्कालगायतको टोलीले सो सडकको निरीक्षण गरेको थियो ।

यता, इन्द्रसरोवर गाउँपालिका–४ स्थित महालक्ष्मी खोलाले बगाएको सडकको सबै ठाउँमा आवश्यकतानुसार मर्मत र अप्ठ्यारो ठाउँमा डाइभर्सन बनाएर बाटो सफा गरिएको छ ।

तीनवटा छोटा सडक सुचारु, कान्ति लोकपथ दसैंअघि नबन्ने
बाढी तथा पहिरोका कारण क्षतविक्षत भएका छोटा दूरीका हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं, कुलेखानी–फाखेल–हुमाने–काठमाडांै, कुलेखानी–महालक्ष्मी–चखेल–मातातीर्थ–काठमाडौं गरी तीनवटै सडकहरू सञ्चालनमा आएको प्रदेशका भौतिक पूर्वाधारमन्त्री मास्केले जानकारी दिए ।

बाटो खुलेसँगै सो सडक हुँदै यातायातका साधनहरू बाक्लै रूपमा सञ्चालनमा आउन थालेको छ भने त्रिभुवन राजपथमा सवारी चाप कम हुँदै गएको छ । यसैगरी, मार्खु–चित्लाङ–चन्द्रागिरि–काठमाडौं सडक यसअघि नै खुलेको थियो ।

कान्ति लोकपथ मर्मतका लागि भने बाग्मती प्रदेश सरकारले कुनै योजना बनाएको छैन । ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बगुवाको मोटरेबल पुलको आधा भाग नै बाग्मती नदीले बगाएका कारण कान्ति लोकपथ दसैंअघि खुल्ने सम्भावना न्यून देखिन्छ ।

सवारीसाधनलाई बाटो वर्गीकरण
हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको सडकमार्ग खुलेसँगै रुट र चल्न पाउने सवारीसाधनको प्रकारका विषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले सूचना प्रकाशन गरेको छ । प्रकाशित सूचनाअनुसार हेटौंडाबाट भैंसे–भीमफेदी–कुलेखानी–चित्लाङ हुँदै काठमाडौं रुटमा अत्यावश्यक सेवाका एम्बुलेन्स मोटरसाइकललगायत हलुका सवारीसाधन र चारपांग्रे सरकारी गाडी चल्न पाउने भएका छन् ।

त्यसैगरी, भैंसे–पालुङ–चित्लाङ हुँदै काठमाडौं वा हेटौंडा–भैंसे–पालुङ–नौबिसे हुँदै काठमाडौं रुटमा चारपांग्रे सवारीसाधन अर्थात् मिनी बस, हाइस, तरकारी बोक्ने साना सवारीसाधन सञ्चालन हुन पाउने भएका छन् । यी सवारीसाधन सो रुटमा बिहान ४ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुन पाउने सूचनामा उल्लेख छ ।

त्यसैगरी, हेटौंडा–भैंसे–पालुङ–नौबिसे–काठमाडौं सडक रुटबाट मिनी ट्रकलगायत अत्यावश्यक वस्तु ढुवानी गर्ने मालबाहक सवारीसाधन सञ्चालन हुन पाउनेछन् । सवारी चापनुसार बिहान ४ देखि बेलुका ७ बजेसम्म सवारी सञ्चालन हुन पाउने सूचनामा उल्लेख छ ।

यता, हेटौंडाबाट भैंसे–भीमफेदी–कुलेखानी–मार्खु–चित्लाङ हुँदै काठमाडौं जान भने कुनै पनि समयावधि तोकिएको छैन ।

The post भत्केको बाटो बन्यो, तर मन भत्किरह्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101949/