भद्रगोल त्रिवि: दर्जन बढी क्याम्पस प्रमुख नियुक्ति गर्ने सुरसार छैन
–उपकुलपतिले रोकेको आरोप
–मानविकी र शिक्षा संकायमा सबै पार्टीनिकट प्राध्यापकको दाबी
–उपकुलपतिको बोली एउटा काम अर्कै भएको आरोप
–त्रिवि पदाधिकारीले नाम तयार हुँदा पनि सार्वजनिक गर्ने तागत देखाएनन्
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालका कारण त्रिविमा ५ संकायका डीन, शिक्षा विकास अनुसन्धान केन्द्र (सेरिड) र योजना निर्देशनालय गरी २ निर्देशक र १७ वटा क्याम्पस प्रमुख र उपत्यकामा २ र उपत्यका बाहिर ६ जना गरी ८ सहनियन्त्रक पदमा नियुक्ति हुन सकेको छैन। धेरै विद्यार्थी संख्या भएका शिक्षा र मानविकी संकायको डीनमा माओवादीनिकटका प्राध्यापक नेतालाई डीन बनाउन खोज्दा नियुक्तिमा विलम्ब भएको हो।
उपकुलपतिको वागडोर सम्हालेकै दिन मेरिटोक्रोसीको आधारमा डीन नियुक्ति गर्ने उद्घोष गरेका उपकुलपति प्राडा बरालले आफ्नै वाचा भुलेर माओवादी निकटका प्राध्यापकलाई डीन बनाउन खोजेपछि समस्या बढेको हो । नियुक्ति गर्न अन्तर्वार्ता दिएको करिब करिब डेढ महिना पुगिसक्दासमेत डीनलगायत कुनै पनि पदमा नियुक्ति हुन सकेको छैन।
नेपाली कांग्रेस र माओवादीबीच भागबण्डा नमिलेका कारण समस्या परेको स्रोतको दाबी छ। कांग्रेसले निकट प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले राम्रालाई हटाएर हाम्रालाई नियुक्ति गर्न लागकोमा विरोध जनाइसकेको छ। संघले त्रिविको विनियम मिचेर, त्रिवि प्रशासन अघि बढेमा प्रतिकारमा उत्रने चेतावनी दिएको छ। कांग्रेस निकट प्राध्यापक संघले मानविकी संकायमा आफ्नो पार्टी निकटका प्राध्यापक डीनमा नियुक्ति हुनुपर्ने जनाइसकेको छ ।
स्रोतका अनुसार चिकित्सा शिक्षा संकायमा एमाले, कृषि तथा वनमा नेपाली कांगे्रसले लिने आन्तरिक सहमति भइसकेको छ। तर, उपकुलपति प्राडा बरालले मानविकी तथा सामाजिक र शिक्षा संकायको डीन माओवादीको भागमा पर्नुपर्ने अडान राखेका कारण समस्या भएको हो । दुई संकायमा एमाले, कांग्रेस र माओवादी तीनै संगठनको दाबी छ। सबैभन्दा धेरै विद्यार्थी अध्यनरत मानविकी संकायमा सबै पार्टीनिकट प्राध्यापक संघसंगठनले दाबी गरिरहेका छन्। तर, उपकुलपति प्राडा बरालले शिक्षासँगै मानविकी पनि माओवादीले पाउनुपर्ने अडान दोहो¥याएपछि समस्या बढेको हो।
त्रिविमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ अनुसार एक–एक अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक र योजना निर्देशनालयको निर्देशक, ५ डीन, उपत्यकामा २ सहित ८ सहपरीक्षा नियन्त्रक र १७ क्याम्पस प्रमुखसहित ३२ जनाको पदपूर्तिका लागि विज्ञापन गरेको थियो । ३२ पदका लागि २ सय ७१ जनाको आवेदन परेको थियो।
त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को नियम १७५ (२) अनुसार नियुक्तिको आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ को परिच्छेद २ मा उल्लेख भएबमोजिम त्रिविका अध्ययन संस्थान र संकायका डीन, विनियमको परिच्छेद ४ को विनियम ७ बमोजिम सेरिडको कार्यकारी निर्देशक र विनियमको परिच्छेद १० को उपनियम १९ बमोजिम योजना निर्देशनालयको निर्देशक पदका लागि आवेदन माग गरेको थियो।
आवेदनमा सेरिडको कार्यकारी निर्देशकमा ८, र उपकुलपति कार्यालय मातहतमा हुने योजना निर्देशनालयको निर्देशकमा ८ जनाले आवेदन दिएका थिए। त्रिविमा १७ क्याम्पस प्रमुखको पदमा १ सय १६ जनाले आवेदन दिएका छन्। त्रिविले क्याम्पस प्रमुखमा नियुक्ति गर्न भदौ १७ र १८ गते विज्ञापन गरेको थियो।
स्रोतका अनुसार क्याम्पस प्रमुख छनोट समितिका सदस्य रामचन्द्र बस्नेत अमेरिकाबाट नफर्किएका कारण ढिलाइ भएको हो । रेक्टर प्राडा खड्ग केसीले बस्नेतको स्थानमा अर्थशास्त्र विभाग प्रमुख रामप्रसाद ज्ञवालीलाई मनोनीत गर्नुभएको छ । नयाँ सदस्य मनोनीतलगत्तै क्याम्पस प्रमुख नियुक्ति हुने रेक्टर कार्यालयले जनाएको छ।
रेक्टर कार्यालयले जनाएअनुसार सानोठिमी क्याम्पस प्रमुखमा ११, ललितकला प्रमुखमा ५, भैरहवा बहुमुखी क्याम्पसमा १३, सिराहा क्याम्पसमा ४, पृथ्वीनारायण पोखरामा ९, पाटन संयुक्तमा १७, रत्नराज्यमा ६, बुटवलको महेन्द्रमा ५, रारा जनकपुरमा ११, त्रिभुवन पाल्पामा ३, डोटी क्याम्पसमा २, विश्व भाषामा ४, जुम्लामा १, सुर्खेत ७, वीरेन्द्र बहुमुखी क्याम्पस चितवनमा ३, महेन्द्र बहुमुखी नेपालगञ्जमा ११, भोजपुर बहुमुखी क्याम्पसमा ४ जनाले आवेदन दिएका थिए ।
त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ५२ को नियम १८५(२) साथै त्रिभुवन विश्वविद्यालय नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ को परिच्छेद १० बमोजिम त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा रिक्त र निकट भविष्यमा रिक्त हुने क्याम्पस प्रमुख पदका लागि आवेदन माग गरेको थियो।
समितिले योग्यता र कार्यसम्पादनका आधारमा छनोट गरेर शिक्षाध्यक्षको कार्यालयलाई बुझाइसकेको छ। तर, त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले हालसम्म नियुक्त गर्न सकेको छैन। छनोट समितिले गत भदौ १७ गते सूचना जारी गरेर विभिन्न ८ संकायका डीन, ६ जना सहपरीक्षा नियन्त्रक, २ जना निर्देशक पदमा आवेदन मागेको थियो।
समितिले त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को नियम १७५ (२) र नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ को परिच्छेद २ अनुसार अध्ययन संस्थान र संकायका डीनको आवेदन मागेको थियो। परिच्छेद ४ को विनियम ७ बमोजिम शिक्षा विकास अनुसन्धान केन्द्र (सेरिड) को कार्यकारी निर्देशक र परिच्छेद १० को विनियम १९ बमोजिम योजना निर्देशनालयको निर्देशकको आवेदन मागेको थियो।