भर्चुअल संसार र मानसिक स्वास्थ्य

आधुनिक विश्व निकै तडकभडकपूर्ण छ । विकसित छ, आधुनिकताको रङ छाएको छ । देख्न र बोल्नका लागि रोकछेक छैन । विश्व एउटा गाउँ बनिरहेको छ । विगतका दुई दशकयता विश्व आश्चर्यको संसारमा परिणत हुँदैगइरहेको छ । असीम रूपमा हुँदै गएको प्रविधिको विकासले विश्व र विश्वका मानिस आश्चर्यजनक रूपमा प्रभावित हुँदै गइरहेका छन् ।

अहिले हात–हातमा मोबाइल र घर–घरमा इन्टरनेट उपलब्ध छ । स्याटेलाइट सूचना प्रविधि, टेलिफोन टावर, रेडियो कलर, इन्टरनेटले संसार भर्चुअल बन्दै गइरहेको छ । यसले मानिसको मानसिक सोच र विचारमा डरलाग्दो परिवर्तन ल्याइरहेको छ । यसले मानिसको स्वास्थ्य कस्तो हुने हो भन्ने समस्या पैदा गरिदिएको छ । मानिस समाजबाट अलग्गिँदै र भर्चुअल संसारमा रमाउँदै र हराउँदै गइरहेको छ ।

भर्चुअल संसारका लागि आवश्यकता पर्ने कुराहरू परिपूर्ति हुनासाथ मानिस रियल संसारबाट हराउँदै गएको साँचो हो । पुराना आवश्यकता र कठिनाइ पार गर्ने क्रममा भएगरिएका विकासका कारण मानिस अब नयाँ मोडमा आइपुगेको छ । अब मानिसका लागि मानसिक स्वास्थ्यको समस्या टड्कारो बनेर आइरहेको छ । यसमाथि मानिसकै विनाशकारी निर्माणका कारण प्राकृतिक विपत्ति पनि निकै दुःख दिने गरेर देखापरिरहेको छ । जनसंख्याको तीव्र वृद्धिदर, बढ्दो सहरीकरण, सहरकेन्द्रित बसाइँसराइ, अन्तर्राष्ट्रिय बसाइँसराइमा विकास, उपभोक्तावादी सोच आदिले मानिसमा मानसिक समस्या ल्याइदिएको छ ।

रासायनिक मलको अत्यधिक प्रयोग, विषादिको प्रयोग तथा उत्पादित वस्तुको अनावश्यक लामो समयसम्म भण्डारण र खानामा ‘प्लास्टिक कोट’ आदिका कारण मानिसको भौतिक स्वास्थ्य दिन प्रतिदिन गिर्दो अवस्थामा छ । यसले मानिसको मानसिक स्वास्थ्यमा सिधा असर पारिरहेको छ । भनिन्छ, ‘साउन्ड हेल्थ, साउन्ड माइन्ड’ त्यसैकारण पनि शारीरिक अस्वस्थाताका कारण मानसिक स्वास्थ्यमा गडबडी आउने गरिरहेको छ ।

मानिस समाज र सामाजिक जीवनबाट विच्छेदनको अवस्थामा छ । विच्छेदित अवस्थाले विकृत मानसिकता पैदा गरिरहेको छ । स्वास्थ्य शिविरमा फोबिया, दुश्चिन्ता, प्यानिक, डिसअर्डर, मनोग्रसित विकृति आदि सामान्य मानिसमा पनि देखापर्न थालिसकेका छन् । मानिस डिप्रेसनग्रस्त छन् । उनीहरूमा उत्साहको लक्षण क्षणिक पनि देखिँदैन । परिणामतः लागूपदार्थ दुव्र्यसनीमा मानिस फसिरहेको छ । भर्चुअल संसार र दुव्र्यसनी एक अर्काका परिपूरक बनेर देखापरिरहेका छन् ।
(पत्रपत्रिकाको सहयोगमा)

The post भर्चुअल संसार र मानसिक स्वास्थ्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102107/