मन्त्री हेरफेरको गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्दै छन् । सरकारमा रहेका केही मन्त्रीलाई फिर्ता बोलाई केही नयाँ अनुहारलाई मन्त्री बनाउने गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् । बालुवाटार स्रोतका अनुसार सञ्चारमन्त्री रेखा शर्मा, ऊर्जामन्त्री शक्ति बस्नेतसहितका केही मन्त्रीलाई हटाएर केही नयाँलाई अवसर दिन खोजिएको हो ।

को हट्दैछ, को मन्त्री बन्दैछन् ?

जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट विभाजन भएर अशोक राईको नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टी (जसपा)का नेतालाई मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई दबाब परेको छ । राईको नेतृत्वमा जसपा नेपाल विभाजन भएपछि सो दलले सरकारलाई समर्थन र सहयोग रहनुका साथै प्रचण्ड नेतृत्वको गठबन्धनलाई नै निरन्तरता दिने बताएको छ ।

राई नेतृत्वको जसपाबाट अहिले वन तथा वातावरणमन्त्री रहेका नवलकिशोर साहलाई निरन्तरता दिने र सांसदहरू वीरेन्द्र महतो, प्रदीप यादवलाई मन्त्री बनाउने तयारी छ ।

उपेन्द्र यादव विदेशमा रहेका बेला पार्टी विभाजन भएको थियो । निर्वाचन आयोगले दल दर्ता गरी कानुनी मान्यतासमेत दिइसकेको छ । नेपाल फर्किएपछि मंगलबार यादवले प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् । उनले आफू विदेशमा रहेका बेला एमाले र माओवादी केन्द्रले मिलेर पार्टी विभाजन गराएको गुनासो पोखे । यता, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानन्त्री प्रचण्ड र एमाले नेताहरूले जसपा विभाजनमा आफूहरूको संलग्नता नरहेको प्रस्टीकरण दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठलाई समेत मन्त्री बनाउने तयारी गरेका छन् । हाललाई श्रेष्ठलाई बिनाविभागीय वा कुनै मन्त्रालय दिएर मन्त्री बनाउने विषयमा प्रचण्ड आन्तरिक छलफलमै रहेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रयासमा वर्तमान गठबन्ध भत्काउने र नयाँ गठबन्धन बनाएर सरकार बनाउने गृहकार्य भएपछि सत्तारूढ दलहरू विभाजन भएका हुन् । जसपा नेपाल विभाजन भइसकेको र केही समयमै नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नाउपासमेत विभाजन हुनसक्ने चर्चा भइरहेको छ ।

एकीकृत समाजवादीका केही सांसद प्रधानमन्त्री निवास बालुटार पुगी आफूहरूलाई मन्त्री बनाउनुपर्ने दबाब दिँदै पार्टी विभाजन गर्न तयार रहेको बताउने गरेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले पार्टी विभाजन नगर्न र हाललाई मन्त्री बनाउन नसकिने जवाफ दिएपछि ती सांसद कहिले एमाले अध्यक्ष केपी शर्मा ओली निवास त कहिले बालुवाटार धाइरहेका छन् ।

पार्टीलाई विभाजनबाट रोक्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीको आन्तरिक छलफलमा जुटेका छन् । एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीचको सम्बन्ध सुमधुर नबनेपछि एमालेकै पहलमा जसपाजस्तै एकीकृत समाजवादी पनि विभाजन गर्नुपर्ने तयारीसमेत भएको छ ।

अहिले एकीकृत समाजवादी, जसपा, रास्वपा, नाउपासहितका दलहरू आन्तरिक किचलोका कारण विभाजन हुने सँघारमा रहेका छन् । यी दलहरूको आन्तरिक बैठक निरन्तर जारी नै रहेको छ ।

The post मन्त्री हेरफेरको गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95631/