माधवलाई ओलीको कटाक्ष- ‘प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक गर्दैछन’

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै प्रधानमन्त्री खान नपाएर हर्‍याकहर्‍याक गरिरहेको टिप्पणी गरेको छन् । एमाले रसुवाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू अहिले प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।

उनले भने, ‘मैले सरकारको नेतृत्व छाडेपछि देशको अर्थतन्त्र ध्वस्त भयो । हामीले हेरिरहेका थियौं, गठबन्धनले चलाइराखेको छ चलाओस् भनेर । तर, गठबन्धन कोही यता तान्या छ, कोही उता तानेको छ, मन्त्री हुनेभन्दा अरु केही कुरै छैन ।’ उनले भने, ‘अहिले पनि तपाईंहरुले देखिराख्नु भएको छ, एक जना मान्छे कराउँदै हिँडेका छन्, मलाई प्रधानमन्त्री हुन आँट्यो भनेर केही मान्छेलाई पीर पर्‍या छ, पोल्या छ भत्भत भनेर, कता प्रधानमन्त्री हुन आँटेको हो ? म त कही पनि देख्दिनँ, उनलाई आफैंलाई त्यस्तो लागिरहेको छ, प्रधानमन्त्री हुन आँटे भन्ने । अरुले मन पराएका छैनन् भन्ने कस्तो नथापाको ।’

उनले थपे, ‘मलाई अचम्म लाग्छ, किन त्यस्तो हतार छ ? कसले रिस गर्‍यो ? किन रिस गर्‍यो ? हामी अहिले एउटा अभियानमा छौं, यो देश प्रधानमन्त्री हुन मात्रै हो, प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक दमको बिरामीले जस्तो गर्दैछन् । प्रधानमन्त्री, प्रधानमन्त्री भन्छन् । मलाई पनि भनिएको थियो, प्रधानमन्त्रीको समय बाँडिचुँडी खाऔं भनेर । मैले भनें, म प्रधानमन्त्रीको लागि होइन, गठबन्धन ढल्यो, खरानीको डल्लो थियो, फुट्यो । अब सरकार चलाएर देश बनाएर जनताको समस्या समाधान गर्नतिर लाग्नुपर्‍यो ।’

 

The post माधवलाई ओलीको कटाक्ष- ‘प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक गर्दैछन’ appeared first on Samudrapari.com.

Source : https://samudrapari.com/2024/05/478069/