म्यान्मामा बाढीका कारण करिब तीन सयको मृत्यु

याङगुन– म्यान्मामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २९३ पुगेको छ । बाढीका कारण अन्य ८९ जना बेपत्ता भएको म्यान्माको राष्ट्रिय दैनिक ‘द मिरर’ ले शुक्रबार जनाएको छ।

रिपोर्टअनुसार बाढीले म्यान्माका विभिन्न क्षेत्र तथा राज्यहरूमा असर गरेको र बिहीबारसम्म ४७ हजार १९ घरधुरीका एक लाख ६१ हजार ५९२ बाढीपीडितले ४२५ राहत शिविरमा आश्रय लिएको एक प्रतिवेदनले जनाएको छ ।

बाढीले सात लाख ६६ हजार ५८६ हेक्टर बाली डुबानमा पर्नुका साथै एक लाख २९ हजार १५० जनावरको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

यागी नाम दिइएको आँधीका कारण बङ्गालको खाडीमा परेकोे न्यून चापीय प्रभावका कारण म्यान्मामा भारी वर्षा भएको र व्यापक बाढी आएको जनाइएको छ ।

बाढी प्रभावित क्षेत्रको सरसफाई, स्वास्थ्य सेवालगायत बाढी पीडितका लागि खाद्यान्न तथा अन्य आवश्यक सामग्री वितरण गर्न स्थानीय निकाय, उद्धार संस्था र बासिन्दा मिलेर काम गरिरहेका छन् । रासस

 

Source : https://onlinetvnepal.com/2024/09/183745/