युवा अभियन्ता दिवाकर अर्याललाई राष्ट्रिय नागरिक पुरस्कार

युवा अभियन्ता दिवाकर अर्यालले यस वर्षको राष्ट्रिय नागरिक पुरस्कार प्राप्त गरेका छन्। सोमबार काठमाडौंमा नागरिक समूहले आयोजना गरेको राष्ट्रिय युवा तथा सुशासन सम्मेलनको अवसरमा उनलाई यो पुरस्कार प्रदान गरिएको हो।

अर्याललाई यो सम्मान करिब एक दशकदेखि उनले युवा अभियानमार्फत विश्वभरका युवाहरुलाई एकीकृत गर्दै आएका योगदानको कदरस्वरुप प्रदान गरिएको हो। नागरिक समूहले अर्यालको यस योगदानलाई अत्यन्तै महत्वपूर्ण मान्दै सम्मान दिएको बताएको छ।

यो पुरस्कारका लागि एम्नेष्टी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष सूर्यबहादुर अधिकारी, नागरिक समूहका अध्यक्ष निगम हुमागाईं र रोटरी डिष्ट्रिक्ट ३२९२ का पूर्व सहायक गभर्नर सुलोचना सिग्देलले चयन गरेका थिए। अधिकारीले विश्वस्तरमा नेपाललाई चिनाउन योगदान पुर्याएका अभियन्ता अर्याललाई छनोट गर्न पाउँदा गर्व महसुस गरेको बताए।

नागरिक समूहका अध्यक्ष हुमागाईंले यस पुरस्कारबाट पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी, कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, नेपाली सेनाका उपरथी रमीन्द्र क्षत्री, तथा नेत्र विशेषज्ञ डा. सन्दुक रूइतलाई पनि सम्मान गरिएको उल्लेख गरे।

पुरस्कार ग्रहणपछि दिवाकर अर्यालले नागरिक समूहले प्रदान गरेको यो सम्मानले आफूलाई युवा अभियानलाई अझ सशक्त बनाउने प्रेरणा दिएको बताए।

Source : https://www.khasokhas.com/211178