युवापुस्तालाई तान्ने अष्टमातृका नाच

विभिन्न रंगको अलगअलग कपडाले सज्जिएका १३ देवगण । चह.. चह… बोलसँगै पञ्चतालको गुञ्जन। त्यही तालमा १३ देवगण कहिले दौडिने त, कहिले उफ्रिने र कहिले मण्डलाकार बनाएर विभिन्न मुद्रा र भावभङ्गीमा मण्डलाकार बनाएर नाच्ने दृश्य।
ललितपुरमा प्रत्येक वर्ष घटस्थापनादेखि एकादशीसम्म स्थानीय नकबहीलदेखि यस नाच शुरू हुने गर्दछ। नकबहीलदेखि पाटनदरबार क्षेत्रमा मंगलबजारमा राति ८ देखि ९ः३० बजेको बीचमा यस किसिमको दृश्य देख्न सकिन्छ। नेपालभाषामा गँः प्याँख भनिने यस नाचलाई अष्टमातृका नाच भनिन्छ।


आहारविहार शुद्धि गरी घटस्थापनाको अघिल्लो रात तन्त्र साधना गरिसकेपछि बिहान न्याखाचुकको नित्यनाथ मन्दिर प्राङ्गणमा देवगण कलेवर पोसाक, गरगहनासहित तर मुकुन्डो नलगाई त्यहाँबाट क्रमबद्ध भएर नागबहाल हुँदै नकवहिल पुग्ने गर्छन्। त्यसै दिन बेलुकादेखि यो नाच शुरू हुने गर्दछ।

शुरूको चार दिन नकबहीलबाट शुरू भई पाटनदरबार क्षेत्रको मुलचोकमा यस नाच समापन गरिनेछ भने त्यसपछिको पाँच दिनसम्म राति कातिक डबलीमा देखाइने गरिन्छ। फुलपाति र विजया दशमीको दिन भने दिउँसो मूलचोकमा यो नाच देखाइन्छ।

अन्तिम दिन अर्थात् एकादशीका दिन नकबही डबली नाच देखाएर यो नाच सम्पन्न गरिन्छ। शुरूको दिन बेलुका तलेजु भवानी देवी मूलचोकमा ल्याउने क्रममा पञ्चताल बजाइ नृत्य प्रस्तुत गर्ने गरिन्छ ।
यस नाचका समावेश विभिन्न वर्णका १३ देवगणहरू:
१ सिंघ्रिणी – श्वेत वर्ण
२. भैरव– नील वर्ण
३. गणेश– श्वेत वर्ण
४. कुमार – रक्त वर्ण
५. ब्रम्हायणी – कुकुम वर्ण
६.महेश्वरी – श्वेत वर्ण
७. कौमारी – रक्त वर्ण
८. वैष्णवी –हरित वर्ण
९. बाराही – रक्त वर्ण
१०.इन्द्रायणी – कुुकुम वर्ण
११. चामुण्डा – रक्त वर्ण
१२. महालक्ष्मी – रक्त वर्ण
१३. व्याघ्रिणी–पीत वर्ण

शक्तिको उपासनासँग सम्बन्धित यस नाचमा यी १३ देवीदेवताको मखुण्डो र सोहीअनुरुप भेषभूषा, गरगहना लगाइ मानिस मण्डालकार बनाएर तान्त्रिक विधिपूर्वक नाचिन्छ। परम्परागत बाजागाजाका साथ देवीदेवता नाच्दै अघि बढ्ने गर्दछन् ।
प्रत्येक देवगणको फरकफरक मुद्रा र भावभङ्गीमा बालबालिका र किशोरकिशोरीका लागि निकै उत्सुकताको विषय हुन्।

त्यसले गर्दा सो नाच हेर्न वयस्कहरूसगै विशेषतः बालबालिकाको भीड उल्लेख्य मात्रा देखिएको हुनसक्ने विगत २४ वर्षदेखि कौमारी, भैरव बनेर नाच्दै आएका युवा वाद्ययवादकसमेत रहेका शैलेन्द्र शाक्यले बताए । सानै उमेरदेखि देवगण बनेर नाच्दै आएका शाक्यले यहीबाट प्रभावित भएर वाद्यवादनतर्फ आकर्षित भई त्यसलाई ‘करिएर’ बनाएका हुन्।

यसरी सानै उमेरदेखि नाच हेर्दे आएका अधिकांश युवा नै अहिले देवगण बनेर नाचिरहेका छन्। हाल सिंघ्रिणी बनेर नाच्दै आएका आयर्म बज्राचार्यले पनि सानै उमेरमा नाच हेरेर नै यसतर्फ झुकाव बढेको बताए। आयर्म मात्र नभई पाटनमा सांस्कृतिक फाँटमा युवापुस्तामाझ परिचित सुप्रिन्स शाक्यले समेत विगत आठ वर्षदेखि नाचमा व्यघ्रिणीको भूमिकामा नाच्दै आएका छन्। उनी पनि सानै उमेरमा नाच हेर्दाहर्दे देवगण बनेर नाच्ने इच्छा पैदा भएको बताए।

यस नाच बालबालिका, युवावर्गका निम्ति मनोरञ्जनसँगै संस्कृति, संस्कार र धार्मिक महत्व बुझ्ने माध्यम पनि बनेको छ। लोक कथन र पंडित आशाकाजी बज्राचार्यको पुस्तकका अनुसार नेपाल संवत ७७८ मा यस प्रकारको मातृका तथा भैरवको गण नृत्य ललितपुरका राजा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लले सञ्चालनमा ल्याएको थियो।

मणिमय रत्नमाला वंशावलीलाई आधार मान्दै उनले लेखेका छन्–‘राजा श्रीनिवास मल्लले एकपल्ट सपनामा आफ्नो मूलचोकमा आठ मातृका र भैरवको गण श्वेत गणेश, कुमार, सिहिंनी, व्याघ्रिनी, ख्याक र कंकालीसहित नाची रहेको देखे।

निद्राबाट बिउँझेर गावहाल टोलका आफ्ना गुरू ब्राम्हण मधुसुधनलाई बोलाई सपनामा देखेको वृतान्तअनुसारको नृत्य बनाइ नचाउने इच्छा व्यक्त गरे। यो व्यवस्थाका लागि ललितपुर न्याखाचुकका तान्त्रिकाचार्य कुलापादसंग सल्लाह गरी सपना देखेअनुसार भैरव मातृका देवदेवीको वर्णनसहितको चचा (चर्यागीत) बाजा, ताल मिलाई दशैंताका प्रदर्शनसमेत गरिएको उल्लेख पाइन्छ ।’

यस संवतका सम्बन्धमा श्रीनिवास मल्ल आफ्ना बुवा सिद्धिनरसिंसँगै सानै उमेरमा राज्य शासन सम्हाल्दै गरेका भएपनि संवत ७८२ मा मात्र राजा पदवी पाएको इतिहास रहेको आधारमा उक्त गँ प्याखँ नाच संवत ७७८ नभई ७८४ मा रहेको हुनुपर्ने पनि केही इतिहासविदको तर्क रहेको छ।

Source : https://newsofnepal.com/2024/10/08/672658/