राष्ट्रिय खेलाडी बन्ने अञ्जनाको सपना  

ओखलढुंगा ।

ओखलढुंगाको लिखु गाउँपालिका वडा नं. १ का अञ्जना खड्का भर्खरै १८ वर्षमा प्रवेश गरेकी छिन । अग्लो कदकी अञ्जनालाई सानैदेखि  भलिबल खेल्ने मोहले अत्याधिक मात्रामा पछ्याई रहन्थ्यो । घरमा दुई जना दाजुहरु भलिबल खेलाडी रहेका अञ्जनालाई दाजुहरुले खेलेको देखेर उनीलाई पनि भलिबल खेल्ने रहर ज्यादै लाग्दथ्यो ।

तर बिडम्वना एक त सानो उमेर अर्को छोरी मान्छे हुनु पर्खाल बनेर उभिन्थ्यो अञ्जनाको भलिबल खेल्ने सपना छेक्न । छोरी मान्छेलाई हरेक क्रियाकलापमा छेकी रहेको नेपाली समाज महिलाहरुको ज्यादै न्यून उपस्थिति रहने खेल जगतमा प्रवेश गर्न खोज्नु त झनै बलि रहेको आगोमा हात हाल्नु सरहनै देखिन्छ ।


अञ्जनालाई पनि भविश्यमा भलिबल खेलाडी बन्ने सपना बोक्नु त्यस्तै भएको थियो । घरमा दुई जना दाईहरु निर्धक्क बल खेल्न पाउँथे तर अञ्जनालाई भने भलिबल खेल्न पाउनु भनेको आकाश झार्नु जत्तिकै चुनौती थियो । उमेर र छोरी मान्छे हुनु मात्रै अञ्जनाको भलिबलका बाधकहरु थिएनन् भलिबल खेलका लागी साथीहरु नपाउनु भलिबल खेलाडी बन्ने बाटो छेक्ने अञ्जनाको अर्को तगारो थियो ।

यस्ता थुप्रै समस्याका चाङहरुको बिच पनि अञ्जनाले भलिबल खेलाडी बन्ने रहरको बिट मार्न सकिनन् । समस्याहरुको चाङका बिच पनि भलिबल खेल्न  छाडीनन् अञ्जनाले । जिद्दी गर्दै कहिले काही आफ्नै दाईहरुसंग खेल्थीन त कहिले काँही गाँउका साथीहरु बटुलेर खेल्ने गर्थिन ।

एवं प्रकारले खेल्दै जाँदा अञ्जनाको भलिबल खेल राम्रो हुँदै  गयो । समय बित्दै जाँदा अञ्जनाको गाँउ बसाई पसिन छोटीदै गयो । एसई को परिक्षासंगै थप उच्च शिक्षाका लागि  गाँउ छाडेर काठमण्डौ जानु पर्ने परिस्थिति आयो । भलिबल खेलसंगै पढाइमा पनि लगनशील छात्राको रुपमा गनिएकी अञ्जनाले एसईई मा राम्रो अंक ल्याएर पास गरिन । एसईई पास गरेसंगै अञ्जनाको काठमण्डौको यात्रा तय भयो ।

ललितपुर पुलचोकको मदन स्मारक सेकेन्डरी माध्यमिक विद्यालयमा शिक्षा संकायमा ७९ सालमा कक्षा ११ मा भर्ना भइन । एवं प्रकारले विद्यालयमा पढदै दिनचार्य बिताई रहेकी अञ्जनाको विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने भलिबल खेलाडी हरुको आवेदन खुल्यो । भलिबल खेल्ने तिब्र ईच्छा बोकेकी अञ्जनालाई यो अवसर के खोज्छस कानो आँखा भने जस्तै भयो । आफ्नो प्रतिभा देखाउने र भलिबलको प्यास मेटाउने अवसरको खोजीमा रहेकी अञ्जनाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आफ्नो कलेजको टिममा सहभागी गराई पाउ भनी आवेदन पेस गरिन । कलेजले लिने ट्रायल दिइन र उत्कृष्ट प्रदर्शन गरिन अनि कलेजको टिममा छनौटमा परिन ।

अञ्जना सहभागी विद्यालय मदन स्मारक सेकेन्डरी माध्यमिक विद्यालयले २०७९ सालको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ललितपुर जिल्ला स्तरीय महिला भलिवलमा प्रथम स्थान हासिल ग¥यो । बिद्यालयको जितका लागि  ओपन स्पाईकरको पोजिसनमा खेलेकी अञ्जनाको विषेश भूमिका रह्यो ।

प्रतियोगिता भरि उच्च प्रदर्शन गरेकी अञ्जना सोही वर्ष हुने बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ललितपुर जिल्लाको टिममा छनौटमा परिन । बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पनि अञ्जनाको पर्दशन उत्कृष्ट रह्यो । ओपन स्पाईकरको भुमिकामा रहेकी अञ्जनाको उत्कृष्ट पर्दशन संगै ललितपुर जिल्लाले २०७९ सालको बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महिला भलिबल विद्यामा प्रथम स्थान हासिल गर्न सफल भयो ।

हसीलो मुहार भएकी अञ्जना हाल विगत ९ महिना अघि देखि  लालितपुरको जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भलिबल तालिम लिई रहेकी छिन ।
भर्खरै सम्पन्न कक्षा १२ को बोर्ड  परीक्षा दिएर बसेकी अञ्जना कक्षा १२ को उत्रीर्ण गरेसंगै नेपाल आर्मीको विभागीय टिममा भर्ना हुने उद्देश्या राखेकी छिन । नेपाल आर्मीको विभागीय टिम हुँदै नेपालको महिला भलिबल टिममा डेब्यु गर्ने अञ्जनाको लक्ष्य रहेको उनले बताएकी छिन ।

Source : https://newsofnepal.com/2024/05/07/642489/