लगानी सम्मेलन सम्पन्न, एक दर्जन सम्झौता

काठमाडौं । सरकारले कानुनी र प्रक्रियागत सुधारका लागि चालेका कदमले नेपालमा लगानी वातावरण बनेकोमा विकास साझेदार संस्थाहरू खुसी भएका छन् ।

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सहित विकास साझेदार संस्थाका प्रतिनिधि र सम्मेलनमा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधि खुसी भएका हुन् ।

नेपालमा लगानीको वातावरण बनेको छ : विकास साझेदार

यद्यपि, लगानी सम्मेलनमा सोकेसमा राखिएका १ सय ५२ वटा परियोजनामध्ये तीनवटामा मात्र सम्झौता भएको छ । सरकारले लगानीका लागि एक महिनाको आशयपत्र समय म्याद दिएकाले लगानी आउने अपेक्षा गरिएको छ ।

सम्मेलनका क्रममा आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डका ९ परियोजनासहित कुल १ सय ५२ परियोजना प्रस्तुत गरिएको थियो । लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक निजी साझेदारीलाई अगाडि बढाउने समझदारीसहित १२ वटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जसमध्ये कुल नौवटा लगानी तथा साझेदारीका सम्झौता भएको थियो ।

तेस्रो लगानी सम्मेलनका क्रममा यति लगानी प्रतिबद्धता आइसकेको भनेर स्पष्ट भने भइसकेको छैन । पहिलो लगानी सम्मेलनमा १८ खर्ब र दोस्रो लगानी सम्मेलनमा २९ खर्बको लगानी प्रतिबद्धता आए पनि लगानी भने भित्रिएको थिएन ।

यद्यपि, लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत मात्रै चार परियोजनाका लागि ९ अर्ब १३ करोडको लगानी स्वीकृत गरिएको छ । लगानी सम्मेलनमा विभिन्न ५५ मुलुकका लगानीकर्ता सहभागी भएका थिए । सम्मेलनमा चीनका २ सय ६५, भारतका १ सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बंगलादेशका १३, संयुक्त अरब इमिरेट्स (यूएई)का १३ र जर्मनीका १० जना सहभागी भएका थिए । यसैगरी, दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ÷नौ जना सम्मेलनमा सहभागी भएका थिए । सम्मेलनमा ८ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित २ हजार ५ सयभन्दा बढीको सहभागिता थियो ।

उद्योग विभागका अनुसार भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब, काठमाडौंमा व्यावसायिक भवन निर्माणका लागि ३ अर्ब लगानी स्वीकृत भएको छ । यस्तै, संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि ७ करोड ६६ लाख लगानी स्वीकृत भएको छ । विभागका अनुसार ललितपुरमा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि ६ करोड २५ लाखबराबर लगानी स्वीकृत भएको छ ।

आइतबार सुरु भएको तेस्रो लगानी सम्मेलन सोमबार सम्पन्न भएको हो । सम्मेलनले नेपाल लगानीका लागि लगानीमैत्री मुलुक भएको विश्वसामु सन्देश दिएको छ । सम्मेलनले कानुन संशोधन गरेर लगानी प्रवद्र्धनका लागि अनुकूल वातावरण सिर्जना गरेको सन्देश दिएको छ । सम्मेलनका क्रममा नेपालले ऊर्जा, सूचना प्रविधि, पर्यटन र पूर्वाधारजस्ता क्षेत्रहरूमा लगानी आकर्षण गर्न भरपुर प्रयास गरेको देखिएको थियो ।

सम्मेलनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दर्जनबढी प्रत्यक्ष बैठक भएको थियो । यसक्रममा विश्व बैंक समूह, चीन, भारत, कुवेत, यूएई, बेलायत र अमेरिकाका प्रतिनिधिले सहयोगका क्षेत्रमा छलफल गरी नेपालमा लगानीका अवसरहरू खोज्ने चासो पनि राखेका थिए ।

सम्मेलनमा लगानी क्षेत्रसम्बन्धी विभिन्न सत्र सम्पन्न भएको थियोे । सम्मेलनका माध्यमबाट विश्व लगानी समुदायमा नेपाल प्रचुर सम्भावना भएको र लगानी आकर्षित गर्ने क्षमता भएको मात्र नभई मुलुकमा सुधारिएको लगानीको वातावरण पनि प्रदर्शन गरिएको थियो । सम्मेलनका क्रममा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय ‘साइडलाइन’ बैठकहरू आयोजना भएका थिए ।

आइतबार तीनवटा सम्झौता भएका थिए । पहिलो सम्झौता डाटा सेन्टर निर्माण तथा सञ्चालन सहकार्यका लागि बीएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस भारतबीच भएको थियो । सम्झौतामा बीएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरे ।

दोस्रो सम्झौता नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच भएको थियो । दुई संस्थाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्झौता भएको हो । सहमतिपत्रमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री मलेसियाका अध्यक्ष तानश्री दातो थायन लाईले हस्ताक्षर गरेका थिए ।

दोस्रो दिन अर्थात् सोमबार भने ६ वटा सम्झौता भएका थिए । नेपाल उद्योग व्यापार महासंघ (एफएनआईसी)ले इन्डियन इन्डस्ट्रिज एसोसिएसन (आईआईए) र चाइना दोंगन जिङ लङ लाइटिङ प्रोडक्ट कम्पनी लिमिटेडसँग सम्झौता गरेको थियो ।

यस्तै, मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अस्ट्रेलियन लगानी भिœयाउने सम्झौता भएको छ । रिसोर्टमा लगानीका लागि रारा होल्डिङ्सले अस्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता गरेको हो । एक्सपर्ट ग्रुपका तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्टका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरेका थिए । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–९ मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यस रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड र दोस्रो चरणमा करिब ४० करोडबराबर लगानी गरिनेछ ।

सोमबार नै नेपालमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवद्र्धनका लागि वल्र्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स (वाप) र नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स (नाप) बीच समझदारी भएको छ । समझदारीपत्रमा वापका तर्फबाट अध्यक्ष जियाद–अलेक्स्यान्डर हायक र नापका तर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए ।

सम्मेलनका क्रममा नेक्सजेन म्यानेजमेन्ट सोलुसन र कोरियन कम्पनी एमएबीसी इन्भेस्टमेन्ट ग्रुपबीच सम्झौता भएको छ । सम्झौतानुसार नेपाली कम्पनीले कोरियाली कम्पनीलाई सहजीकरण तथा परामर्श सेवा प्रदान गर्नेछ । सम्झौतामा एमएबीसीका अध्यक्ष जियोन योङ ली र नेक्सजेनका शिवराज दवाडीले हस्ताक्षर गरे । कोरियन कम्पनीले नेपालमा उद्योग व्यवसाय, हरित ऊर्जा, सेवा उद्योग, नवीनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रमा ६ अर्ब वैदेशिक लगानी ल्याउने स्वीकृति लिएको छ ।

यसैगरी, विप्रेषण आप्रवाहको रकम जलविद्युत् आयोजनामा लगानी गर्नेगरी रेमिट हाइड्रो परियोजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । लगानी सम्मेलनको दोस्रो दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्हरूबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीमा राष्ट्रिय समन्वय परिषद्का तर्फबाट रमेश भट्ट (कतार), राजकुमार श्रेष्ठ (बहराइन), बिनोद थापा (मलेसिया), बिनोद श्रेष्ठ (इराक), विकास शाही (यूएई), बिकल झा (ओमान) र टीकाराम खरेल (जापान)ले हस्ताक्षर गरेका थिए ।

तेस्रो लगानी सम्मेलनमा नेपाली व्यावसायिक समूह साखः र चिनियाँ कम्पनीबीच होटेल निर्माणका लागि सम्झौता भएको छ । बोर ग्रुप अफ होटेल चाइनाले साखः समूहसँग संयुक्त लगानीमा होटेल बनाउने भएको हो । कपिलवस्तुको गोरुसिंगेमा रहेको साखः समूहको २२ बिगाहा जग्गामा होटेल बन्ने भएको हो । बोर ग्रुपले हालसम्म जापान, लाओस, कम्बोडिया, भियतनाम र चीनमा होटेल सञ्चालन गरिरहेको छ ।

सम्मेलनको समापन समारोहमा पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षाबमोजिम स्वदेशी र विदेशी निजी क्षेत्रको लगानीलाई अभिवृद्धि गर्ने ध्येय राखिएको बताए । उनले स्वदेशी र विदेशी निजी क्षेत्रका लगानी प्रवद्र्धनका लागि संशोधित कानुनको प्रभावकारी कार्यान्वयन तथा उचित वातावरण सिर्जनाका पक्षमा आफूहरू दृढ रहेको बताए ।

लगानी सम्मेलनका क्रममा मोरङको बूढीगंगामा चारपांग्रे सवारीसाधन उत्पादन गर्न कोसी एनके र चीनको स्यामन गोल्डेनबीच सम्झौता भएको छ ।

नेपालमा पहिलोपटक मोरङको बूढीगंगामा १५ बिगाहा क्षेत्रफलमा सञ्चालनको तयारी गरिएको यस कम्पनीमा सुरुवाती चरणमा ३ अर्ब रुपैयाँको लागत रहने बताइएको छ ।

१ वर्षभित्र सबै चारपांग्रे सवारीसाधन उत्पादन गरिने र कम्पनीले नेपाली परिवेश र आवश्यकतानुसार प्रत्येक महिना ७ सय ५० वटा गाडी उत्पादन गर्नेछ ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको अगुवाइमा रेमिट्यान्सबाट आउने रकम जलविद्युत् आयोजनामा लगानी गर्नेगरी रेमिट हाइड्रोको अवधारणा अघि सारिएको छ ।

यस आवधारणानुसार हाल दुईवटा आयोजनाहरू निर्माणको चरणमा जान लागेका छन् । यी आयोजनाको कुल सेयर पुँजीको २९ प्रतिशत वैदेशिक रोजगारीमा रहेकाहरूका लागि छुट्याइने भएको छ ।

एचआईडीसीएलले रेमिट हाइड्रोको अवधारणाअनुरूप अघि बढाएको ताप्लेजुङ जिल्लामा रहेको ७० दशमलव ३ मेगावाट क्षमताको सिम्बुवाखोला जलविद्युत् आयोजना र ७७ दशमलव ५ मेगावाट क्षमताको धुन्साखोला जलविद्युत् आयोजनाको सेयर लगानीमा वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूलाई सहभागी गराउन लागिएको हो ।

सम्मेलनका क्रममा उद्योग विभागले स्वचालित मार्ग (अटोमेटिक रुट)मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणालीको उद्घाटन गरेको छ । सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्थाका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली–२०७७ को पहिलो संशोधन गरेको थियो ।

सम्मेलन उद्घाटन सत्रमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विकासका एजेन्डामा नेपालका सबै दल सँगै रहेको प्रतिबद्धता जनाएका थिए ।

यसैबीच, अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रूपमा सफल भएको बताएका छन् ।

सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) तथा नेपालका लागि विभिन्न मुलुकका राजदूतहरूसँगको साइडलाइन बैठकमा बोेल्दै सोमबार बिहान उनले सम्मेलन सफल भएको बताए ।

The post लगानी सम्मेलन सम्पन्न, एक दर्जन सम्झौता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95319/