वर्षाले राहत, जनजीवन सामान्य

जनकपुरधाम सहित तराई मधेशमा मंगलबार भएको बर्षाले आम जनताले राहत पाएका छन् । केही दिन देखिको प्रचण्ड गर्मीका कारण जनजीवन प्रभावित भएको अवस्थामा मंगलबार भएको बर्षाले जनजीवन सामान्य बनेको छ ।

तराई मधेशमा न्यूनतम तामपक्रम ३० र अधिकतम तापक्रम ४५ डिग्रि सेल्सियस सम्म मापन गरिएको थियो । गर्मीका कारण घरबाट बाहिर निस्कने अवस्था थिएन् भने यहाँका बजार व्यवसाय दिनभर ठप्प हुने गरेको थियो । अत्यधिक गर्मीका कारण खेतहरुमा धाजा परेको थियो । यस महिनामा किसानहरु आली बनाउने काम गर्ने गर्थे तर आलीमा कोदालोले माटो खन्न सक्ने अवस्था थिएन् जसका कारण किसानहरु आली समेत बनाउन सकेका थिएन् । अत्यधिक गर्मीका कारण तराई मधेशका जिल्लाहरुमा आगलागीका घटनाहरु समेत बढेको थियो ।

आगलागीका कारण मधेश प्रदेशमा मात्रै १० महिनामा ४६ करोड भन्दा बढीको क्षति भइ सकेको छ भने दर्जनौको मृत्यु समेत भएको छ । मधेश प्रदेशमा चालु आर्थिक वर्ष २०८०/८१ मा १२ सय आगलागीका घटना भएका छन् । गत साउनदेखि वैशाख १५ गतेसम्म प्रदेशका ८ वटै जिल्लामा १ हजार १सय ९९ वटा आगलागीका घटना भएका छन् ।

प्रदेशका ८ जिल्लामा भएका आगलागीका कारण २० जना मानिसले ज्यान गुमाएका छन् । १ सय २० जना घाइते भएका मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट प्रदेशमा ४४ करोड ५४ लाख ६४ हजार ४३२ रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट ८१ पक्की घर, ४ सय ८० कच्ची घर र २ सय २७ वटा गोठहरु जलेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विभिन्न स्थानमा आगलागीका कारण २ सय ३ चौपाया मरेका छन् । कार्यालयका अनुसार सबैभन्दा बढी आगलागीका घटना सिरहामा भए । सबैभन्दा कम सर्लाहीमा भएको छ । सिरहामा २ सय १६ वटा आगलागीका घटना हुँदा सर्लाहीमा १ सय ४ आगलागी भएको प्रहरीको अभिलेख छ । सिरहामा आगलागीबाट ४ जना पुरुष र १ महिलसहित ५ जनाले ज्यान गुमाएका छन् । १८ महिला, ६ पुरुष र ४ बालबालिकासहित गरी २८ जना घाइते भएका छन् । ८२ घर र ३८ गोठ जल्दा ८ करोड २० लाख ४० हजार रुपैँया बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सर्लाहीमा आगलागीबाट १ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । सर्लाहीमा १०० घर जल्दा ३ करोड ४१ लाख ७५ हजार ४०० रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सप्तरीमा १ सय ७२ वटा आगलागीका घटनामा १ जनाको मृत्यु भएको छ । ५६ घर र २५ गोठ जलेका छन् । त्यहाँ ५ करोड ४१ लाख २३ हजार मूल्य बराबरको क्षति भएको छ ।

प्रदेश राजधानी धनुषामा १ सय ४५ वटा आगलागीका घटनामा हुँदा ६ जनाको मृत्यु र २३ जना घाइते भए । यस्तै ३ चौपाया जलेर मरे । २२ घर र ३ गोठ जलेर नष्ट हुँदा ८ करोड ४९ लाख १८ हजार ७ सय बराबरको क्षति भएको छ। महोत्तरीमा १ सय ३० वटा आगलागी हुँदा १ जनाको जलेर निधन भएको छ । आगोले ३२ चौपाया मरेका छन् भने ८ चौपाया घाइते भए ।

त्यस्तै १ सय २० घर र ७१ गोठ जल्दा ४ करोड १४ लाख १६ हजार ३ सय बराबरको क्षति भयो । त्यस्तै रौतहटमा १ सय ८३ आगालागीका घटनाबाट ३ जनाको मृत्यु भएको छ भने ३ जना बालबालिकासहित १८ जना घाइते भएका छन् । रौतहटमा ४४ चौपायाको जलेर मर्दा २० वटा घाइते भएका छन् । यस्तै ४६ घर र ३८ गोठ जलेका छन् । जिल्लामा ४ करोड ९८ लाख १९ हजार ७३२ रुपैयाँको क्षति पुगेको छ ।

बारामा १ सय २१ वटा आगलागीका घटनाबाट २ जनाको मृत्यु हुँदा १९ जना घाइते भएका प्रहरीको तथ्याङ्क छ । त्यहाँ ५४ वठा पशुको जलेर मृत्यु भएको र १६ घाइते भएका छन् । ८४ घर र ३८ गोठमा क्षति पुग्दा ४ करोड १७ लाख ८ हजार ५ सय मूल्य बराबरको नोक्सानी भएको छ। पर्सामा १ सय २८ आगलागीका घटनाबाट १ जनाको मृत्यु भएको छ ।

यस्तै आगोमा ६ जना बालबालिकासहित १३ जना जलेर घाइते भएका छन् । आगलागीबाट ५७ पशुको जलेर मरे । ५१ घर र १४ गोठ आगोको चपेटामा परेर जलेका छन् । जिल्लामा ५ करोड ७२ लाख ६२ हजार ८०० रुपैयाँ बराबरको क्षति भएको तथ्यांक प्रहरीसँग छ ।

यता, तराई मधेशको सयौं हेक्टर जंगलमा पानी नपर्दा डढेलो लाग्ने गरेको थियो । तर, पानी परेपछि डढेलोको समस्या पनि तत्कालका लागि टरेको छ ।

The post वर्षाले राहत, जनजीवन सामान्य appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/05/08/92997/