विद्यार्थीहरुलाई मन्त्री गिरीको सुझाव– सत्ताको ताबेदारी नगरी नेतृत्व विकास गर्नुस् ।

२५ वैशाख, काठमाडौं – कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सत्ताको ताबेदारी नगरी नेतृत्व विकास गर्न विद्यार्थीहरुलाई अनुरोध गरेका छन् । अनेरास्ववियुको केन्द्रीय कानुन तथा संघीय मामिला विभागले आज नेपाल ल क्याम्पसमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री गिरीले सो अनुरोध गरेका हुन् ।

‘विद्यार्थी नेताहरुको काम भनेको हामीलाई खबरदारी गर्ने पनि हो । हामी गलत बाटो हिँड्न खोज्यौं भने सच्याउने पनि हो,’ मन्त्री गिरीले भने, ‘दबाब र जागरणको भूमिका खेल्ने हो तपाईंहरुले, सत्ताको ताबेदारी गर्ने होइन । त्यो हिसाबले आफ्नो नेतृत्व विकास पनि गर्नुपर्छ ।’

उनले थपे, ‘नेपालका ठूलठूला राजनीतिक परिवर्तनमा सायद पार्टीका नेताहरुभन्दा पहिला विद्यार्थी नेताहरु पुगेर आन्दोलनको ज्वारभाटा सिर्जना गरिसके पछाडि बल्ल सबै आन्दोलनको पछाडि हिँड्नुपर्ने स्थिति सिर्जना भएको हो । त्यसकारण विद्यार्थीहरुले त्यो हैसियत र त्यो आँट राख्नुपर्छ ।

मन्त्री गिरीले विद्यार्थीहरुलाई नेपालमा शिक्षाका समस्या के हुन् भन्ने विषयमा सबैभन्दा पहिले स्पष्ट भएर आफ्ना गतिविधि अघि बढाउन सुझाव समेत दिए । शिक्षामा हुनेखाने र हुँदाखाने बीचको वर्गीय विभेद कायम रहेसम्म सुखी नेपाली समृद्ध नेपालको संकल्प र समाजवादको लक्ष्य पूरा नहुने मन्त्री गिरीले भने ।

उनले भने, ‘जब शिक्षाको नीति नै विभेदकारी छ भने, जब शिक्षा नै सबैलाई समानरुपले दिन सकिँदैन भने, समान अवसरहरु शिक्षामा सिर्जना गर्न सकिँदैन भने त्यसले वर्गीय समाजको निर्माण गर्छ, त्यसले हुनेखाने र हुँदाखानेहरुका बीचमा अर्को नयाँ खाडल सिर्जना गर्छ । त्यसले समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यमा पुग्न दिँदैन, समाजवादको गन्तव्यमा हामीलाई पुग्न दिँदैन ।

एउटालाई दास बनाउने र अर्कोलाई राज्यका माथिल्ला निकायहरुमा पुर्याउने प्रकारको शिक्षाको वातावरण भएमा समाजमा दुईटा वर्गहरु निस्किने भन्दै मन्त्री गिरीले यो निकै गम्भिर विषय भएको बताए । ‘देशको समग्र प्रणाली सुधार्नका लागि सबभन्दा पहिला शिक्षाबाट सुरुवात गर्नुपर्छ भन्ने कुरामा हामी सबै एकमत हुनुपर्छ,’ मन्त्री गिरीले भने, ‘देशमा एउटै खालको शिक्षा प्रणाली लागू गर्न सक्नुपर्छ । यसमा हामी दृढताका साथ उभिन सक्नुपर्छ । एउटा शिक्षा नीतिबाट सबै शिक्षा प्रणालीहरु सञ्चालन हुनुपर्छ ।’

स्थानीय तहले पाठ्यक्रम विकास गरे पनि आम रुपमा केन्द्रले दिशानिर्देश गर्नुपर्ने र शिक्षक तथा कर्मचारीहरुको सेवा सुविधाको मापदण्ड पनि केन्द्रबाटै तय हुनुपर्ने मन्त्री गिरीको धारणा छ ।
नेपालको शिक्षा नेपालको माटो सुहाउँदो, जीवन उपयोगी र व्यवहारिक हुनुपर्ने भन्दै त्यसैअनुसारको पाठ्यक्रम तयार पार्नुपर्नेमा जोड दिए । अन्यथा बेरोजगारमात्र उत्पादन हुने टिप्पणी उनले गरे ।

‘आजको शिक्षामा हाम्रो समस्या भनेको सैद्धान्तिक र कोरा शिक्षा भयो,’ मन्त्री गिरीले भने, ‘साथीहरु, एउटा कुरा बुझ्नुस्– तपाईंहरुले पढेको शिक्षाले भाषण त गर्न सकौंला, अंग्रेजीमा बोल्न पनि सकौंला, तर हाम्रो जीवनपयोगी छ कि छैन, हाम्रो माटो सुहाउँदो छ कि छैन, हाम्रो आवश्यकता अनुरुपको हो कि होइन भन्ने कुरा पहिचान नगरी पाठ्यक्रमहरु तयार गर्छौं भने त्यसले बेरोजगार उत्पादन गर्ने बाहेक केही पनि गर्दैन । अनि विद्यालयहरु, विश्वविद्यालयहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्न जान्छन् ।’

हाम्रो आवश्यकता के हो भन्ने पहिचान गरी व्यवसायिक, प्राविधिक शिक्षा आजको अनिवार्य आवश्यकता भएको भन्ने ख्याल गर्नुपर्ने मन्त्री गिरीले बताए । विद्यमान ऐन र नीतिमा भएको खोटका नेपालीहरुको विदेश पलान नरोकिएको र सस्तोमा श्रम बेच्न बाध्य भइरहेको भन्दै मन्त्री गिरीले यस विषयलाई जोडदार ढंगले उठाउन विद्यार्थीहरुलाई आह्वान गरे । सरकारले भने यी कुराहरुलाई सम्बोधन गर्ने गरी अघि बढ्ने मन्त्री गिरीले बताए

Source : https://onlinetvnepal.com/2024/05/176848/