शिक्षक सरुवा प्रकरणः न्याय खोज्दै अदालत पुग्दै अभिभावक
वालिङ । स्याङ्जाको वालिङ नगरपालिका १ मा रहेको रणविर जनहित माविका अभिभावकहरु न्याय खोज्दै उच्च अदालत पोखरा पुगेका छन् । वालिङ नगर शिक्षा समितिले कानुन विपरीत शिक्षक सरुवा गरेपछि अभिभावकहरु न्याय माग्न अदालत पुगेका हुन् ।
नगर शिक्षा समितिले विद्यालय व्यवस्थापन समितिको दोहोरो सहमति नगराई शिक्षक सरुवा गरिदिएपछि रणविर जनहित माविका अभिभावकहरु असन्तुष्ट भएका थिए । विद्यालय व्यवस्थापन समितिलाई जानकारी नै नदिइ गरिएको सरुवा बदर गर्न रणवर जनहित माविका बहुमत व्यवस्थापन समिति र अभिभावकहरुले माग गरेपनि नगरपालिकाले बेवास्था गरेको थियो ।
नगरपालिकाले अभिभावकको माग सुनुवाई नगरेपछि शिक्षक सरुवा बदरको माग गर्दै रणविर जनहित माध्यमिक विद्यालयका अभिभावकहरु न्याय खोज्दै उच्च अदालत पोखरा पुगेका छन् ।
अभिभावकहरुले दायर गरेको रिटको उच्च अदालत पोखराले सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको छ । अभिभावकको तर्फबाट पुष्पकमल रेग्मीले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । रेग्मीले दायर गरेको रिटको सुनुवाई गर्दै अदालतले वालिङ नगरपालिका नगरकार्यपालिकाको कार्यालय, वालिङ नगरपालिकाको नगरकार्यपालिकाको कार्यालयका नगर प्रमुख कृष्ण खाँण, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, वालिङ नगर शिक्षा समितिको कार्यालय, वालिङ नगर शिक्षा शाखा प्रमुख ख्यामनारायण काफ्ले र नगर शिक्षा समितिका सदस्य लक्ष्मीप्रसाद रेग्मीलाई कारण सहित छलफलमा आउन अदालतले आदेश दिएको छ ।
अदालतले कारण सहित कार्तिक २७ गते अदालतमा आफै वा प्रतिनिधि पठाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ । अदालतले कारण देखाउ आदेश दिएका शिक्षा समितिका सदस्य लक्ष्मीप्रसाद रेग्मी विवादित रणविर जनहित माविका प्रधानाध्यापक समेत हुन् ।
वालिङ नगर शिक्षा समितिले असोज १३ गते महेन्द्र माविका अंग्रेजी शिक्षक अर्जुन पोख्रेललाई रणविर जनहित मावि र रणविर जनहित माविका अंग्रेजी शिक्षक कमलराज लम्साललाई महेन्द्र माविमा सरुवा गर्ने निर्णय गरेको थियो । दुवै विद्यालयका व्यवस्थापन समितिको सहमति नगराई नगर शिक्षा समितिले शिक्षक सरुवा गरेपछि उक्त निर्णय विवादित बन्न पुगेको हो ।
शिक्षक सरुवा निर्देशिका २०८१ र वालिङ नगर शिक्षा ऐनमा शिक्षक सरुवा गर्दा दोहोरो विद्यालय व्यवस्थापन समितिको सहमति आवश्यक पर्ने उल्लेख छ । तर नगर शिक्षा समितिले व्यवस्थापन समितिको सहमतिबेगर सरुवा गरेपछि रणविर जनहित माविका अभिभावकहरु असन्तुष्ट भएका हुन् ।
रणविर जनहित माविका प्रअ रेग्मी नगर शिक्षा समितिको सदस्य समेत हुन् । उनले विद्यालय व्यवस्थापन समितिलाई समेत जानकारी नदिइ शिक्षक सरुवा गर्ने निर्णय गरेपछि विद्यालयका अभिभावकहरु प्रअ रेग्मी प्रति समेत रुष्ट भएका छन् । विद्यालयको प्रअ र नगर शिक्षा समितिको सदस्य रहेका रेग्मीले दोहोरो भुमिका खेलेका कारण विद्यालय व्यवस्थापन समिति र अभिभावकहरु आक्रोशित भएका हुन् ।
वालिङ नगरपालिकाले गर्ने हरेक निर्णय बेला—बेलामा विवादित बन्दै आउन थालेका छन् । यसभन्दा अगाडी वडा अध्यक्ष स्वतः विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न पाउने व्यवस्था राख्न नगर शिक्षा ऐन नै संशोधन गरिएको थियो । उक्त व्यवस्था संघिय कानुनसगँ बाझिएको भन्दै नगर कै उपप्रमुख सहित अभिभावकहरु खारेजीको माग गर्दै उच्च अदालत पोखरा देखी सर्वोच्च अदालत सम्म पुगेका थिए । यो रिटको पनि फैसला आउन बाँकी रहेको छ । हरेक निर्णय कानुन विपरीत गर्न थालेपछि वालिङ नगरपालिका बिरुद्ध न्यायको खोजी गर्दै अदालत पुग्नेक्रम बढ्दो छ ।
The post शिक्षक सरुवा प्रकरणः न्याय खोज्दै अदालत पुग्दै अभिभावक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/103426/