सन्तुलित आहारा र ‘जंक फुड’

मानिसलाई स्वस्थ जीवन जिउनका लागि सन्तुलित आहारा आवश्यक पर्छ । सामान्यतयाः हाम्रो शरीरलाई चाहिने सबैखालका पोषक तत्वको मात्रा मिलेर बनाइएको खानालाई सन्तुलित आहारा भनिन्छ । यो आहारा निर्माण गर्दा कुन व्यक्तिलाई उसको शारीरिक अवस्थानुसार पोषक तत्व कति मात्रामा चाहिन्छ भन्ने कुरा ख्याल राख्नुपर्छ ।

यस कुराको निर्धारण व्यक्तिको उमेर, उचाइ, तौल तथा उसले लिएको दैनिक भोजनका आधारमा हुन्छ । यस कारण पनि सन्तुलित भोजनको मात्रा व्यक्तिनुसार फरक पर्छ । एउटै खानाबाट हामीलाई चाहिने सबै पोषक तत्व पाउन सकिँदैन । यसका लागि खाद्य विविधीकरण जरुरी छ । किनकि, सबै तत्व एउटै खानाबाट प्राप्त गर्न सम्भव हुँदैन । त्यसैले, विभिन्न खालका खाना मिलाएर खानुपर्छ । खानालाई गुणात्मक रूपमा सन्तुलित बनाउन हरेक छाक चार समूहका खानेकुराहरू मिलाएर बनाउँदा राम्रो हुन्छ ।

शक्ति दिने खानेकुरामा अन्न र कन्दमूल पर्छन् । चामल, कोदो, मकै, फापर, गहुँजस्ता अन्न प्रजातिमा पर्छन् भने आलु, पिँडालु, सखरखण्ड आदि कन्दमूलमा पर्छन् । शरीर वृद्धि विकासमा सहयोग गर्ने खानेकुरामा गेडागुडीहरू पर्छन् । यसमा दाल, चना, भटमास, राजमा, केराउ पर्छन् । यस अतिरिक्त सागपात तथा फलफूल पनि शरीरका लागि अति आवश्यक छ । शरीरको समग्र वृद्धि, विकास यसले गर्छ । माछा, मासु, अण्डा, दूध, दहीजस्ता पशुपंक्षीजन्य खानेकुराले शरीर बलियो बनाउँछ ।

त्यसैले खाना खाँदा यी चार समूहका खानेकुरा सकेसम्म हरेक छाकमा खानुपर्छ । त्यति नभए दिनभरका खानामा समावेश गरिनु जरुरी छ । पोषक तत्व सबैलाई उही र उति नै मात्रामा चाहिन्छ भन्ने छैन । बढ्दो उमेरका बालबच्चा, गर्भवती, सुत्केरी महिलाका लागि अन्यको तुलनामा बढी प्रोटिनयुक्त खानाहरू खानु उत्तम हुन्छ । यसमा दाल, चना, भटमास, राजमा, केराउ, माछा, मासु, अण्डा, दूध, दही आदि पर्न आउँछन् ।

खानेकुरा सन्तुलित हुनुका साथै स्वस्थ पनि हुनुपर्छ । के खाने, कति खाने र कसरी खाने भन्ने आफ्नो स्वस्थ्यमा निर्भर हुन्छ । धेरै प्रशोधन गरिएका प्याकेटका खानेकुरा, तेलमा डिप फ्राई गरिएका खानेकुरा शरीरका लागि हानिकारक हुन्छन् । नुन, चिनी भएका, रिफाइन्ड गरिएका खानेकुराहरू शरीरका लागि विषसरह हुन्छन् ।

संसारभर मान्छेको ज्यान खाना खान नपाएर होइन, खाना खान पाएर गइरहेको छ । त्यसैले, खाना र जीवनशैली मिल्नुपर्छ । नत्र रोगको घर बन्छ, शरीर । बोक्रासहितका खानेकुरा बोक्रा नफाली खानुपर्छ । बासी, दूषित तथा सडेगलेका खानेकुरा खानुहुँदैन । प्याकेटका खानेकुराहरू किन्दा ख्याल गरिनुपर्छ । जंक फुड खानै हुँदैन । किनकि जंक फुड आफैंमा विषजस्तै हो ।
(पत्रपत्रिकाको सहयोगमा)

The post सन्तुलित आहारा र ‘जंक फुड’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95635/