सरिता लामिछाने अमेरिकास्थित नेपाली बैंकको ब्रान्ड एम्बेस्डर

काठमाडौं । यतिबेला आफ्नो पारिवारिक भेटघाटको लागि सँयुक्त राज्य अमेरिका पुगेकी अभिनेत्री सरिता लामिछाने त्यहाँ एउटा बैंकको ब्रान्ड एम्बेस्डरमा चयन भएकी छिन् । उनी अमेरिकामा रहेका नेपालीहरुले खोलेको अमेरिकाकै पहिलो नेपाली वित्तिय संस्था एभरेष्ट फेडेरल क्रेडिट युनियन (नेपाली बैंक)को ब्राण्ड एम्बेस्डरमा चयन भएकी हुन् । बैंको सञ्चालक समितिको बैठकले उनलाई चयन गरेको हो ।

लामिछानेलाई बैंकको तेश्रो वार्षिक साधारण सभाबाट आधिकारिक अनुबन्धित गरिने बैंकका सञ्चालक समितिले जनाएको छ । लामिछानेलाई बधाई ज्ञापन गर्दै सञ्चालक समितिले उनको सहयोगले यो बैंकको प्रवर्धनसँगै बित्तिय कारोवार बृद्धिमा अझ धेरै सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

संस्थापक अध्यक्ष मोहन ज्ञवाली रहेको एभरेष्ट फेडेरल क्रेडिट युनियनको प्रधान कार्यालय तीन वर्ष अघि अमेरिकाको न्युयोर्कमा स्थापना गरिएको थियो । बैंकका बर्तमान अध्यक्ष डा. मदन उप्रेतीले यो बैंकको अन्य राज्यहरुमा पनि शाखा खोल्ने तयारी भईरहेको जनाएका छन् ।

‘अमेरिकामा रहनु भएका नेपालीहरुले यहाँ नेपाली बैंक स्थापना गर्नु आफैंमा खुसीको कुरा हो । सो बैंकको ब्रान्ड एम्बेस्डरको जिम्मेवारी पाउँदा म झनै खुसी भएको छु ।’ सरिताले बैंकको प्रचार प्रसारमुलक विज्ञापनसहित प्रवर्धनको विभिन्न परियोजनामा म संलग्न रहने बताएकी छिन् ।

न्युयोर्क पछि टेक्सासमा शाखा खोलेर सेवा दिँदै आएको यो बैंकको नयाँ साखा यसै महिना ओहायो र भर्जिनियाँमा खुल्दैछ । यो नयाँ साखाको उद्घाटन सम्पन्न गरेर आफु अमेरिकाबाट नेपाल फर्कने अभिनेत्री लामिछानेले बताएकी छिन् ।

The post सरिता लामिछाने अमेरिकास्थित नेपाली बैंकको ब्रान्ड एम्बेस्डर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103008/