साहित्यकार तथा पत्रकार स्व. सय्जुको हाइकु संग्रह लोकार्पण

काठमाडौं ।

साहित्यकार तथा पत्रकार स्वर्गीय श्यामसुन्दर सय्जुको नेपाल भाषामा लेखिएका हाइकुहरुको संग्रह हाइकु किचःको शनिबार राजधानीमा लोकार्पण गरिएको छ । रामशाह पथस्थित महान्यायधीवक्ताको कार्यालय भवनमा आयोजित विशेष समारोहमा पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले हाइकु किचःको लोकार्पण गर्नुभएको हो ।

साहित्यकार स्व. सय्जुले नेपाल भाषामा मात्र नभई नेपाली भाषामा पनि कथा, कविताहरुको रचना गरेको चर्चा गर्दै पूर्व प्रधान न्यायाधीश श्रेष्ठले उहाँको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति भएको विचार व्यक्त गर्नुभयो । सबैले आआफ्नो मातृ भाषामा लेखिएको साहित्यिक रचनाको जर्गेना गरेमा मात्र राष्ट्रियता बलियो हुने उहाँको धारणा थियो ।

कार्यक्रममा साहित्यकार मोहन दुवालले स्व. सय्जु नेपाल भाषाको मात्र नभई राष्ट्रकै शक्तिशाली कवि भएको जिकिर गर्दै उहाँ पनौतीको गौरब भएको बताउनुभयो । उहाँले बौद्धिकता एवं साहित्यकारहरुको खोजी गरी उनीहरूलाई स्थापित गर्ने काम सरकारको भएको धारणा राख्दै केन्द्रका साथै स्थानीय सरकारले स्वर्गीय सय्जुका कृतिहरूको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी डा. सुमन ताम्राकारले स्व. सय्जुका अन्य कृतिहरू पनि प्रकाशनका लागि तयारी अवस्थामा रहेको जानकारी दिंदै नेपाल भाषाको साहित्यमा उहाँको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

अर्का साहित्यकार डा. आनन्द जोशीले काभ्रेको पनौतीमा जन्मनु भएका स्व. सय्जुका हाइकुहरु परम्परागत र आधुनिक हाइकुलाई जोड्ने पुलको रुपमा रहेको टिप्पणी गर्दै भन्नुभयो– ‘उहाँको विषय प्रकृति भए पनि उहाँका हाइकुहरुमा मानव जीवनको अन्तरसम्बन्ध र अन्तरविरोधलाई स्पष्टसंग देख्न सकिन्छ ।’उहाँले दक्षिण एसियामा नेपाल भाषाको हाइकु सबैभन्दा अब्बल रहेको दावी पनि गर्नुभयो । साहित्यकार सुरेश प्रधानले पनि स्व. सय्जुका हाइकुहरु बाचन गर्दै उहाँको साहित्यिक योगदानबारे चर्चा गर्नुभयो ।

वि.सं. २०२४ सालमा गोरखापत्रबाट पत्रकारिता शुरु गर्नुभएका स्व. सय्जुले अर्थशास्त्र, अंग्रेजी र नेपाली विषयमा स्नातक र पत्रकारितामा स्नाकोत्तर गर्नुभएको थियो । गोरखापत्रका साथै मधुपर्क र मुना मासिकको पनि प्रधान सम्पादकको रुपमा काम गर्नुभएका स्व. सय्जु अध्यापन र साहित्य सिर्जनामा पनि उति नै सक्रिय हुनुहुन्थ्यो ।

Source : https://newsofnepal.com/2024/05/04/641964/