२५ लाख लगानी गरेर महिलाहरुले सञ्चालन गरे सरफ उद्योग, सात जनाले पाए रोजगारी

तनहुँ । तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेका छन् । भीमादको मातृशिशु कल्याण आमासमूहमा आबद्ध महिलाले ‘मातृशक्ति’ नामको सरफ उद्योग सञ्चालन गरेर उदाहरण प्रस्तुत गरेका हुन् । महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेसँगै आत्मनिर्भरतर्फउन्मुख हुँदै गएको समूहका अध्यक्ष हरिमाया पौडेलले बताएका छन् । रु २५ हजारका दरले लगानी गरेर उद्योग सञ्चालन गरेको पनि अध्यक्ष पौडेलले बताए । ‘सुरुमा करिब रु २५ लाख लगानी भएको यस उद्योगमा नगरपालिकाले ७० प्रतिशत लगानी गरेको छ’, अध्यक्ष पौडेलले भने,‘ ३० प्रतिशत लगानी समूहका सदस्यले गरेका हौँ। ’

विसं २०५३ मा स्थापना भएको उक्त समूहको कोषमा रहेको रकमसहित प्रतिव्यक्ति रु २५ हजार लगानी गरेसँगै गरपालिकाले सरफसम्बन्धी तालिम दिएपछि उद्योग सञ्चालनमा ल्याइएको उनको भनाइ छ । उद्योगमा सात जनाले रोजगारी पाएका छन् । काठमाडौँबाट कच्चा पदार्थ ल्याएर मेसिनमा प्रशोधन र प्याकेजिङ गरी बिक्रीवितरण गर्दै आइएको समूहका सचिव सीता सुवेदीले बताए ।

आयआर्जन वृद्धि, रोजगारी सिर्जना र आयात घटाउने उद्देश्यले उद्योग सञ्चालन गरेका हौं, उनले भने, ‘भीमाद बजार र आसपासका क्षेत्रमा मागअनुसार सरफ उत्पादन गर्दै आएका छौँ, अहिले बजार पनि विस्तार गर्दै गएका छौँ ।’ उनका अनुसार प्रतिकिलो रु दुई सय र रु तीन सय ५० गरी दुईथरीका सरफ उत्पादन हुँदै आएको छ ।

दुई वर्षअघिदेखि दर्ता प्रक्रिया अघि बढाइएकामा गत असोजदेखि सरफ उत्पादन थालिएको सचिव सुवेदीले जानकारी दिए । ‘आधा किलोग्रामको प्याकेटमा पनि सरफ उत्पादन गर्ने योजना समूहको छ, उनले भने, ‘घरायसी र व्यक्तिगत कामबाट बचेको समय उद्योगमा काम गर्ने व्यवस्था मिलाएका छौँ।’

सबै मिलेर काम गर्ने र बचत भएको पैसा बाँडफाँट गर्ने गरिएको सचिव सुवेदी बताउँछन् । स्थानीयस्तरमा उत्पादन हुन थालेपछि कपडा धुनका लागि आवश्यकपर्ने सरफ आयातमा कमी आएको उनको भनाइ छ । उत्पादित सरफलाई ‘मातृशक्ति’ नाममा ब्रान्डिङ गरिएको उनले जानकारी दिए।

भीमादका शालिकराम गहतराजले स्थानीयस्तरमा गुणस्तरीय सरफ उपलब्ध भएपछि बाहिरबाट किनेर ल्याउने प्रवृत्तिको अन्त्य भएको बताएका छन् । उनका अनुसार राम्रो, गुणस्तर र अन्य कम्पनीको तुलनामा सस्तो मूल्य भएकाले अधिकांशले यही सरफ प्रयोग गर्दै आएका छन् । यहाँ उत्पादित सरफ स्थानीयस्तरमा बढी माग र खपत हुने गरेको बताइएको छ ।

Source : https://arthasarokar.com/2024/05/tanahun-industry-female.html