अष्ट्रेलियामा यसरी मनाइयो दशैं, नेपालमा टिका लगाउने तयारी, अमेरिकामा भोलि

अष्ट्रेलियामा रहेका हिन्दु नेपालीहरुले बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा ग्रहण गरेर दशैं मनाएका छन् । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।

अष्ट्रेलियन नेपलिज मल्टिकल्चरल सेन्टर मेलबर्नमा ११ बजेर ४५ मिनेटको शुभ साइतमा टिका लगाइएको त्यहाँबाट बाल ब्यास श्रवण न्यौपानेले जानकारी दिनुभयो ।

त्यहाँ विहानैदेखि टिका लगाउने नेपालीहरुको घुईचो लागेको थियो । अष्ट्रेलियामा कतिपयले भोलि टिका लगाउने बताएपनि अधिकांशले भने आजै दशैंको टिका लगाएका छन् ।

अष्ट्रेलियन नेपलिज मल्टिकल्चरल सेन्टर मेलबर्नमा राखिएको जमरा

नेपालका लागि टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर ३६ मिनेटमा साइत उत्तम रहेको जनाएको छ । नेपालमा रहेका नेपालीहरुले उक्त साइतमा टिका लगाउने तयारी गरिरहेका छन् ।

अमेरिकामा बस्ने नेपालीहरुले भने भोलि अक्टोबर १२ मा दशैं मनाउँदैछन् । न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०१, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः३९, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ०९ः४५, टेक्सास, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०५, वासिङ्टन डिसी, अमेरिकाका लागि ०९ः५५, क्यालिफोर्निया, अमेरिकाका लागि ०९ः३९ बजेको समय शुभ रहेको समितिले जनाएको छ ।

 

Source : https://www.khasokhas.com/210679