उपनिर्वाचनमा मतदान सकिएलगत्तै मतपेटिकाको ढुवानी व्यवस्था मिलाउन निर्देशन
काठमाडौं– १६ मंसिरमा स्थानीय तह उपनिर्वाचनमा मतदान सकिएपछि त्यसै दिन मतपेटिका ढुवानी व्यवस्था मिलाउन निर्वाचन आयोगले सरकारलाई आग्रह गरेको छ ।
मतदान भएकै दिन मतपेटिकाहरू सुरक्षित रुपमा मतगणनास्थलसम्म ढुवानी र सुरक्षा गर्ने व्यवस्था मिलाउन निर्वाचन आयुक्त सगुनशमशेर जबरा संयोजकत्वमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले गृह मन्त्रालयमार्फत् जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ ।
मंसिर १३ गते राति १२ बजेदेखि प्रचार प्रसार निषेध अवधिमा पालना गर्नुपर्ने आचारसंहिताको पूर्ण पालना गर्न गराउन समेत प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिने निर्णय गरेको छ ।
उपनिर्वाचनको दिन चुनाव हुने स्थानीय तहसँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन र निर्वाचनको स्वच्छतामा असर नपर्ने गरी मतदाता आवागमन सहज गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।
१६ मंसिरमा ४४ स्थानीय तहमा स्थानीय तहको उपनिर्वाचन हुन लागेको हो ।