उपनिर्वाचन : दैलेखको महाबु र दुल्लु १३ मा उम्मेदवारी दर्ता
दैलेख।
आगामी मंसिर १६ गते हुने उपनिर्वाचन अन्तरगत दैलेखको महाबु गाउँपालिका अध्यक्ष तथा दुल्लु नगरपालिकाको १३ नंं वडा अध्यक्ष पदका लागि आज उम्मेदवारी दर्ता सकिएको छ । महाबु गाउँपालिका कार्यालय तथा दुल्लु नगरपालिका वडा नं. १३ को कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजे देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएकोमा उक्त समय भित्र सान्तिपुर्ण वातावरणमा विभिन्न दलहरुले आ—आफ्नो उम्मेदवारको उम्मेदवारी दर्ता गराएका छन्।
जस अन्तरगत महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाली काँग्रेसबाट झलक कुमार भण्डारी, नेकपा एमालेबाट जंगबहादुर शाही, नेकपा माओवादीबाट जंग बहादुर बराल मगर, नेकपा समाजवादीबाट जगत हमाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकास कुमार बुढा, राप्रपाबाट सुर्जे रावत र नेपाल मजदुर किसान पार्टीबाट दुर्ग बहादुर मगरले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरि दुल्लु नगरपालिका वडा नं. १३ को वडाध्यक्ष पदका लागि नेपाली काँग्रेसबाट रेशम बहादुर शाही, नेकपा एमालेबाट लाल बहादुर शाही, नेकपा माओवादीबाट ढकेन्द्र बहादुर शाही, राप्रपाबाट रेशम कुमार मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राम बहादुर शाही र नेपाल मजदुर किसान पार्टीबाट पुर्ण प्रसाद उपाध्ययाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
महाबु गाउँपालिका तथा दुल्लु नगरपालिका १३ मा हुने उपनिर्वाचनका लागि स्वतन्त्र एवं बागि उम्मेदवारीको चर्चा भएको भएपनि तोकिएको समयभित्र कसैको उम्मेदवारी भने परेको छैन ।