एक किलो नुनको भाउ ११० रुपैयाँ
दार्चुला– नुन भान्साको लागि अत्यावश्यक खाद्यवस्तु हो । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयो नुनको मूल्य २६ रुपैयाँ तोकेको छ । तर नेपालका यस्ता गाउँ छन् जहाँ एक किलो नुनको नै ११० रुपैयाँ पर्न जान्छ ।
दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नं २ स्थित दैभात गाउँ एउटा सुन्दर हिमाली गाउँ हो । प्राकृतिक सुन्दरता भएपनि यो गाउँ शिक्षा, स्वास्थ्य, विद्युत, यातायातका सुविधाबाट कोषौँ टाण छ ।
यो गाउँ पुग्न अपिहिमाल गाउँपालिका वडा नं ५, मकरीगाडबाट नै छ घण्टा उकालो चढ्नु पर्छ । तर त्यो उकालो बाटो चढ्न सडक त टाढाको कुरा खच्चड हिँड्ने घोरेटो बाटोसमेत छैन । उकालो पैदलमार्ग मर्मत नगरिदिँदा मानिस हिड्नै नै उक्त बाटोमा हिड्न मुश्किल पर्ने त्यहाँका स्थानीयले बताएका छन् । जसकारण आफूहरुलाई चाहिने खाद्यान्न र निर्माण सामग्री गाउँसम्म पुर्याउन उनीहरुले निकै सास्ती भोग्ने गरेका छन् ।
यस्तै सास्तीका कारण उनीहरु गाउँमा एक किलो नुनको नै ११० रुपैयाँ तिर्न बाध्य भएका हुन् । मकरीगाडमा नुन ५० रुपियाँ किलोमा पाइन्छ । त्यही नुनलाई खरिद गरेर गाउँसम्म लैजान भरियालाई बोकाउनुपर्छ । भरियालाई एक किलो नुनको नै ६० रुपियाँ ढुवानी भाडा तिर्नुपर्छ । खच्चड हिँड्न सक्ने बाटो नै बनिदिएपनि नुनको मूल्यभन्दा बढी ढुवानी खर्च तिर्न नपर्ने स्थानीयको बुझाइ छ । यसका लागि स्थानीय सरकारले सडक मर्मतको विषयमा ध्यान पुर्याउन समेत उनीहरुले अपिल गरेका छन् ।