एभरेष्ट कलरले आईपीओ निष्काशन गर्ने
काठमाडौँ । रंग उत्पादन गर्ने कम्पनी एभरेष्ट कलर लिमिडेटले साधारण सेयर निष्काशन (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीको अधिकृत पुँजी ३० करोड रुपैयाँ र जारी पुँजी २६ करोड रुपैयाँ छ । जसमध्ये संस्थापक सेयरधनीले २२ करोड १० लाख रुपैयाँ चुक्ता गरिसकेका छन् । सर्वसाधारणलाई १५ प्रतिशत सेयर निस्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्ने छ ।
कम्पनीको शनिबार सम्पन्न पहिलो वार्षिक साधारणसभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । अन्य कलर उधोगभन्दा पृथक ढंग सञ्चालनमा रहेको यस उद्योग स्वदेशी युवाहररूको लगानीमा स्थापना भएको हो । गुणस्तरीय एभरेष्ट कलर उपभोग गरेर आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पुर्याउने उद्देश्य लिएर १४ बर्षअघि एभरेष्ट कलर कम्पनी स्थापना भएको हो ।
एभरेष्ट कलर ५ महिनाअघि प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेडमा रुपान्तरण भएको थियो । कम्पनीले १४ वर्षदेखि बहुराष्ट्रिय कम्पनी सरह उच्च गुणस्तरीय कलरहरु उपलब्ध गराउने नेपाली कम्पनीको रुपमा परिचित रहँदै आएको छ ।
कम्पनीको सभाले संस्थापक सेयरधनीकातर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना संचालकको पनि चयन गरेको छ । सरोज लुईटेल, राजनलाल श्रेष्ठ, महेश्वर खनाल, रोजीना श्रेष्ठ र आत्माराम ढुङ्गागानालाई संस्थापक सेयरधनीकातर्फबाट संचालकमा निर्वाचित भएका हुन् । सर्वसाधारण सेयरधनीका तर्फबाट एक जना र अर्का एक स्वतन्त्र संचालक समेत ७ जनाको संचालक समिति रहने व्यवस्था छ ।
Source : https://arthasarokar.com/2024/11/everest-caller-to-issue-ipo.html