काठमाडौंको फोहोर व्यवस्थापनलाई संघीय सरकारले राजनैतिक हतियार बनाएको बालेनको आरोप
काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको फोहोर व्यवस्थापनमा फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनी, छिमेकी स्थानीय तहदेखि संघीय सरकारले समेत असहयोग गरेको आरोप लगाएका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले काठमाडौंको फोहोर व्यवस्थापन गर्नुभन्दा फोहोरलाई स्थायी राजनैतिक हतियार बनाउने गरी संघीय सरकारले असहयोग गरिरहेको आरोप लगाएका हुन् ।
उनले लेखेका छन्, ‘काठमाडौंको फोहोर व्यवस्थापनले भोगिरहेको अर्को समस्या हो, संघीय सरकारको हस्तक्षेप । संघीय सरकारले फोहोरको स्थायी समाधान गर्ने भन्दा फोहोरलाई स्थायी राजनीतिक हतियार बनाउनेमा ध्याउन्नमा असहयोग मात्र गरिरह्यो । हाम्रो अधिकार माथि पनि केन्द्र सरकारको हस्तक्षेप रह्यो ।’
विवादित नेपवेस्ट कम्पनीलाई नै फोहोर व्यवस्थापनको जिम्मा दिएर काठमाडौंको फोहोरमा एकाधिकार लाद्ने र दिगो समाधान नहुने बाटो तोड्न आफूहरु क्रियाशील रहेको मेयर बालेनले बताएका छन् । आफूहरुले वैधानिक मापदण्ड अनुसार नै टेन्डर गर्दा पनि नेपवेस्टले मुद्दा हालेको उनले बताएका छन् । तर मुद्दाको फैसला काठमाडौंकै पक्षमा आएकोसमेत उनले बताएका छन् ।
उनले लेखेका छन्, ‘तर, सम्मानित अदालतले यो अधिकार काठमाडौं महानगरमै निहित रहेको भन्ने आदेश दिएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा रहेको एकखालको अवरोध पाखा लागेको छ । फोहोरको दिगो व्यवस्थापनमा हामी एक कदम अगाडि बढेका छौं। अवरोध, हस्तक्षेप र राजनीतिका खराब दाउपेच अझै पनि हुन सक्छन् । तर हामी रोकिने छैनौँ ।’
मेयर बालेनले काठमाडौंको फोहोरको दिगो समाधान सम्भव रहेको र त्यो काठमाडौंबासीको अधिकारको कुरा भएको पनि उल्लेख गरेका छन् । ‘हामीले फोहोर थुपारेर बर्षौँदेखि अन्याय गरिरहेको सिस्डोल र बञ्चरे डाँडा लगायत स्थानका पीडितहरूको न्यायको कुरा हो । यो हजारौँको रोजगारी र देशभरको गौरव जोडिएको विषय हो’, उनले भनेका छन् ।