कोशीमा पहिचान पक्षधरले फेरि ब्युँताए आन्दोलन
समाचार सुन्नुहोस :
काठमाडौँ – कोशी नामको विरोधमा आन्दोलन गरिरहेको प्रदेश नं. १ पुनःनामांकन संयुक्त सङ्घर्ष समितिले फेरि आन्दोलन थालेको छ। कोशी नाम खारेजीको माग गर्दै सुरु भएको आन्दोलन केदार कार्की नेतृत्वको सरकारले नाम परिवर्तनको पहल गर्ने सहमति गरेपछि सुस्ताएको थियो । सोमबार विराटनगरमा पत्रकार सम्मेलनमार्फत प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले औपचारिक रूपमा आन्दोलनको घोषणा गरेको छ। आइतबार नै शक्ति प्रदर्शनसहित आन्दोलन सुरु गरिएको थियो।
समितिले फागुन १७ लाई ‘कालो दिवस’का रूपमा मनाउने र चैत १० सम्म कोशी नाम खारेजी र पुनः नामकरण प्रक्रिया सुरु नगरे थप कडा आन्दोलनको चेतावनी दिएको छ। योजनाबद्ध आन्दोलनमा प्रदेशसभा र मुख्यमन्त्री कार्यालय घेराउ तथा अनिश्चितकालीन हड्ताल जस्ता कार्यक्रम समावेश छन्। कोशी नामका पक्षमा मतदान गर्ने प्रदेशसभा सदस्यहरूलाई सार्वजनिक कार्यक्रममा बहिष्कार गर्ने र प्रतिरोध गर्ने निर्णयसमेत गरिएको छ।
विभिन्न ठाउँमा लेखिएको प्रदेशको नाम ‘कोशी’ मेटाउन र हटाउन पनि आन्दोलनरत पक्षले माग गरेको छ। कोशी नामको लेटर प्याड, छाप नचलाउन कार्यालय प्रमुख कर्मचारीहरूलाई अनुरोध गर्ने र नमानेमा स्पष्टीकरणको कारबाही अघि बढाउने समितिको चेतावनी छ। २०७९ फागुन १७ मा दुई तिहाइ बहुमतले कोशी नाम पारित भएयता पहिचानका पक्षधरहरू आन्दोलित छन्।
The post कोशीमा पहिचान पक्षधरले फेरि ब्युँताए आन्दोलन appeared first on Samudrapari.