जापानी समाजसेवी योजीको सहयोगमा ३०२ नेपालीको आँखा परीक्षण
समाचार सुन्नुहोस :
काठमाडौँ – काभ्रे जिल्लाको भुम्लु गाउँपालिका–८ स्थित प्रकाश उच्च माध्यमिक विद्यालयमा मंसिर १ र २ गते दुई दिने निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। जापानी समाजसेवी योजी माचुदाको सहयोगमा सञ्चालन गरिएको यस शिविरमा ९ वर्षदेखि ८७ वर्ष उमेर समूहका व्यक्तिहरूले आँखा परीक्षण गराएका थिए।
शिविरमा ३ सय २ जना बिरामीहरूको आँखा परीक्षण गर्दा ८० जनामा नजिकको देख्ने समस्या देखियो भने १ सय ७० जनामा टाढाको दृष्टि समस्या भेटिएको थियो। नजिकको देख्न समस्या भएका बिरामीहरूले परीक्षणकै क्रममा चस्मा प्राप्त गरे। टाढा देख्न समस्या भएकाहरूका लागि मंसिर ८ गते चस्मा वितरण गरिने छ।
शिविरको उद्घाटन र सञ्चालनका क्रममा पालिकाका अध्यक्ष प्रेम बहादुर भुजेल, विद्यालयका प्रधानाध्यापक हरि नारायण साह, समाजसेवी प्रेम लामा, वडा अध्यक्ष मोतिलाल तामाङ, फोटो पत्रकार दिवाकर मास्के, विद्यार्थी, स्वयम्सेवक, र स्थानीय बासिन्दाहरूले जापानी समूहलाई विद्यालयमा भव्य स्वागत गरे।
जापानी समाजसेवी योजी माचुदा उमेरका कारण सेवा क्षेत्रबाट अवकाश लिए पनि नेपालीप्रतिको आफ्नो सद्भावलाई निरन्तरता दिन नेपाल आएका थिए। उनले आफ्नो छोरा तासिकी माचुदा र समाजसेवी किकुची योसिएलाई पनि साथमा ल्याएका थिए। स्थानीय नेताहरूले माचुदाको सेवाभावको प्रशंसा गर्दै जापान-नेपाल सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गरे।
The post जापानी समाजसेवी योजीको सहयोगमा ३०२ नेपालीको आँखा परीक्षण appeared first on Samudrapari.