जापान काण्डले मन्त्रीको पद खुस्कियो
विराटनगर ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नै मानव तस्करको जालोमा परेको खुलेको छ। कोशी प्रदेशका मुख्यमन्त्री र संघीय सरकारलाई समेत कुनै जानकारी नदिई जापानका लागि उडेका कोशी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री लीलाबल्लभ अधिकारी हङकङ पुगेर फर्किएपछि मानव तस्करको योजना खुलेको हो।
यस घटनामा संलग्न भएको आरोपमा ७ जना पक्राउ परेका छन्। मानव तस्करको गम्भीर विषय बाहिरिएपछि अधिकारीले मन्त्री पदबाट बुधबार राजीनामा दिनुभएको छ। अधिकारीलाई जापानमा हुने सांस्कृतिक कार्यक्रममा अतिथिका रूपमा बोलाइएको थियो । उहाँसँगै सचिवालय कर्मचारी बनाएर अन्य तीन जनालाई जापान लैजान खोज्ने सात जना पक्राउ परेका हुन्।
जापान जान खोज्नेमा जनक राई, दाबा शेर्पा, देवकोटा थरका एक जना छन्। मन्त्री अधिकारीले आफूलाई थाहै नदिई अन्य तीन जनालाई सचिवालय कर्मचारी बनाएर जापान लैजान खोजिएको पत्रकार सम्मेलनका क्रममा दाबी गर्नुभएको छ।
आफ्नो राजीनामा र उठेका विभिन्न प्रश्नको स्पष्टीकरण दिने उद्देश्यले पत्रकार सम्मेलन गरेका अधिकारीले उनीहरूसँग मन्त्रालयको कर्मचारीको नक्कली कार्डसमेत रहेको बताउनुभएको छ। आफूसँगै अन्य नचिनेका तीन जनालाई सचिवालयका सदस्य बनाएर जापान लैजान खोजेको थाहा पाएपछि आफू हङकङ एयरपोर्टबाटै फर्किएको अधिकारीको भनाइ छ।
उहाँले आफू नेपाल फर्किएपछि उनीहरू जापान जान नपाएको दाबी गर्नुभएको छ। तर, मुख्यमन्त्रीलाई समेत जानकारी नदिई जापान उडेका अधिकारी हङकङमा पुगेर फर्किनु र उहाँको सचिवालयका कर्मचारीकै रूपमा नक्कली परिचयपत्रसमेत बनाएको भेटिएको घटनाले भने अधिकारीमाथि पनि प्रश्न उठेको छ।
अधिकारीका अनुसार नक्कली कागजात बनाएर मानव तस्करले तीन जनालाई हङकङ ट्रान्जिटबाट जापान उडाउन खोजेका थिए। हङकङ एयरपोर्टमा पुगेपछि आफूले सबै कुरा थाहा पाएको उहाँले बताउनुभयो। उहाँले आफूप्रति भएका नकारात्मक टीकाटिप्पणीलाई अध्ययन अनुसन्धान र छानबिन गर्न पनि सहजता होस् र यस्ता जिम्मेवार पक्षमा रहने जिम्मेवार पार्टीका जिम्मेवार जनप्रतिनिधिहरूले जनताकै बिचमा पनि जाँदा आफूलाई लागेको आक्षेपमा नैतिक रूपले बसिरहन उचित हुँदैन भन्ने ठानिकन राजीनामा दिएको बताउनुभएको छ।
प्रदेश सरकार र मुख्यमन्त्रीलाई जानकारी समेत नदिई कात्तिक १३ गते जापान उडेका मन्त्री अधिकारी १७ गते फर्किनुभएको थियो। पक्राउ परेकाहरूलाई हिरासतमा राखेर सीआईबीले अनुसन्धान गरिरहेको छ।
अधिकारीले अक्टोबर २९ तारिकदेखि नोभेम्बर ३ तारिकसम्म टोकियो महानगरपालिकाको कार्यक्रम रहेको दाबी गर्नुभयो। सोही कार्यक्रममा उहाँ जानुभएको हो । २५ मा भिसा लागेको खबर आएको र आफू २७ मा उडेकोले मुख्यमन्त्रीलाई आफूले जापान जाने नभनी २, ४ दिन बिदामा रहेको मौखिक जानकारी गराएको उहाँले पत्रकार सम्मेलनमै बताउनुभएको छ।
यो घटनाले अधिवक्तासमेत रहेका अधिकारीले जापान जाँदासमेत आफ्नै दलबाट मुख्यमन्त्री बनेका हिक्मत कार्कीलाई बताउन उचित ठान्नुभएन भन्ने प्रश्नसमेत उठेको छ । मन्त्री अधिकारी मोरङको क्षेत्र नम्बर २ को प्रदेशसभाको २ बाट निर्वाचित एमालेकाका सांसद हुुनुहुन्छ।
अघिल्लो प्रदेशसभा निर्वाचनमा पनि उहाँ सोही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो। अघिल्लोपटक चर्चित ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका गोरे भनिने चूडामणि उपे्रतीको पक्षमा वकालत गरेर विवादमा तानिनुभएको थियो।