डेंगु नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले डेंगु नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गरेका छन्। प्रधानमन्त्री ओलीले आज दिएको भिडियो सन्देशमा देशका केही जिल्लामा डेंगुको प्रभाव कायम रहेको भन्दै नियन्त्रणमा लाग्न सबैमा अनुरोध गरेका हुन्।

प्रधानमन्त्रीले हरेक शुक्रबार बिहान १० बजे ‘खोज र नष्ट गर’ अभियान देशव्यापी रूपमा सञ्चालन गर्न सङ्घीय, प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियान्तालगायत सबैलाई आग्रह गरेका छन्।

उनले डेंगु सार्ने लामखुट्टेको नियन्त्रणका लागि लामखुट्टेको प्रजननस्थल पानी जम्ने स्थान भएकाले त्यस्ता स्थलको पहिचान गरी लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्नुपर्नेमा जोड दिउका छन्।

‘नागरिक स्वस्थ भएमा मात्र समृद्ध नेपाल निर्माण सम्भव छ, त्यसैले डेंगु नियन्त्रणको यस अभियानलाई सफल पार्न सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गर्दछु,’ सन्देशमा प्रधानमन्त्रीले भनेका छन् ।

Source : https://newsofnepal.com/2024/10/25/675154/