धितो नै बाढीले बगाएपछि के गर्ने ?
झन्डै तीन वर्षअघि सहकारी संस्थामा समस्या देखिन थाल्यो। नाम चलेका मुलुककै ठूला सहकारीमा पनि एकाएक संकट देखियो । कतिपय सहकारी त रातारात भागे। सहकारी भाग्न थालेपछि बचतकर्ताहरु पनि सचेत भए। उनीहरु आफूले बचत गरेको सहकारीको अवस्था के–कस्तो छ ? भनेर दिनहुँ सहकारी पुग्थे। अनि सहकारीका कर्मचारी, सञ्चालक, अध्यक्षहरु भन्थे, ‘हामी रैथाने हो । हामी भाग्दैनौं । यदि सहकारीमा समस्या देखिहाले पनि हाम्रो आफ्नै भवन छ । हामी यो बेचेर भए पनि तपाईंको पैसा फिर्ता गर्छाैं । त्यसैले नआत्तिनु, ढुक्क भएर बस्नुस् ।’
सहकारी सञ्चालक तथा अध्यक्षको यस्ता आश्वासनपछि बचतकर्ताहरु ढुक्क भएर आफ्नो घर पुग्थे । तर सहकारीले आश्वासन दिएकै दिन वा त्यसको केही समयमै सहकारीहरु भाग्न थाले । अहिले सञ्चालनमा रहेका कतिपय सहकारी संस्थाले समेत बचतकर्ताको निक्षेप फिर्ता गरेका छैनन् । बचतकर्ता दिनरात आफ्नो निक्षेप माग्न गए पनि उनीहरुले आज र भोलि भनेर अल्मल्याएर राखिरहेका छन् । यतखेर हिन्दु धर्मावलम्बीहरुको महान् चाड चलिरहेको छ । तर पनि सहकारीले निक्षेप फिर्ता गरेको छैन । यसले गर्दा बचतकर्ताहरु कसरी चाड मनाउने ? भनेर चिन्तित छन् ।
हिजो भवन बेचेर भए पनि निक्षेप फिर्ता गर्ने आश्वासन दिएका सहकारी सञ्चालक, अध्यक्षहरु अहिले भागिसकेका छन् । अधिकांंश सहकारीको त भवन बैंकले लिलामसमेत गरिसकेको छ । कतिपय सहकारीको भवन पनि बिक्री भइरहेको छैन । अनि अब सर्वसाधारणले आफूले सहकारीमा बचत गरेको रकम कसरी फिर्ता पाउँछन् ? हुन त पछिल्लो समय सहकारीप्रति जनविश्वास गुम्दै गएको छ । अहिले सहकारीले निक्षेप जतिसुकै महँगो ब्याज दिन्छु भने पनि सर्वसाधारण बचत गर्दैनन् । किनकि जनताले बुझिसके कि सहकारीबाट आफूहरु ठगिन सक्छ । सहकारीका कारण लाखौं जनता पीडित भएका छन् । सहकारी सञ्चालक, अध्यक्ष तथा कर्मचारीहरुले बचतकर्ताको खर्बौं रकम हिनामिना गरेका छन् ।
सहकारी कसरी डुब्यो ? भनेर सरकारदेखि जनतासम्मलाई थाहा छ। बैंकले सय रुपियाँ कित्तामा निष्कासन गरेको शेयर दलालीहरुले ३२ सय पुर्याए। त्यो शेयरमा सहकारीहरुले लगानी गरे। यता, दलालीहरुले जग्गाको मूल्य बढाएका थिए। निमुखा किसानसँग आनाको १९ हजारमा जग्गा किनेर खण्डीकरण गरे अनि आनाकै ६०–७० लाखमा बेचिदिए। गाडीमा पनि यस्तै भएको हो ।
भारतमा एक लाखमा पाइने सवारीसाधन यहाँ ५ लाखदेखि २५ करोडसम्ममा बेचिएको छ। बैंक, वित्तीय संस्थाको होस् या व्यक्ति, सबैको लगानी घरजग्गा, गाडी र शेयरमा छ। फेरि यही तीन क्षेत्रमा व्यापाक मन्दी आउँदा बैंकदेखि व्यक्तिसम्म डुब्ने अवस्थामा पुगेका छन्।
यो क्षेत्रमा लगानी गरेकै कारण सहकारी त डुबिहाल्यो । अब पालो बैंकको हो । अर्कोतर्फ, अहिले बाढीका कारण बैंकले लगानी गरेको घडेरीसमेत बगेको छ। नबगेको जमिन पनि बाढीपश्चात् कुन जग्गा हो र कुन लेदो ? भनेर छुट्याउन महामुस्किल परेको छ।
यसका कारण ऋणीले सावाँ–ब्याज नतिर्नेबित्तिकै बैंक पनि सहकारीजसरी डुब्ने देखिन्छ। अहिले बैंक डुब्ने थाहा पाएसँगै निक्षेप निकाल्नेहरु बढेको बताइन्छ । यता घरजग्गा, गाडी र शेयरको मूल्य बढ्दैन भनेर पनि प्रस्ट भइसकेको छ। ‘कहिले सासूको पालो त कहिले बुहारीको’ भनेझैँ हिजो सहकारी डुब्यो त अब बैंक डुब्दै छ । धितो नै बाढीले बगाएपछि के गर्नु र !
– रुषा थापा, भक्तपुर ।