निजगढ तिलगंगा आँखा अस्पताल सञ्चालन
बारा।
निजगढ नगरपालिकामा निर्माण भएको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले बुधबारबाट नयाँ भवनबाट सेवा शुरु गरेको छ । मधेस प्रदेशका मुख्यमन्त्री शतीशकुमार सिंहले अस्पतालको उद्घाटन गरेसँगै अस्पतालले नयाँ भवनबाट सेवा सञ्चालन शुरु गरेको हो ।
निजगढ नगरपालिकाले उपलब्ध गराएको साडे ११ कठ्ठा जमिनमा अस्ट्रेलियन दातृ संस्था फ्रेड होलोज फाउन्डेसनको करिब १९ करोड लगानीमा अस्पताल भवन निर्माण भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले अस्पतालको भवन तथा पूर्वाधारमा भन्दा पनि सेवाको गुणस्तर र बिरामीको सुविधानमा ध्यान दिएर काम गर्नुपर्ने बताएका थिए ।
त्यस्तै, आँखा विशेषज्ञ नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा। सन्दुक रुइतले अस्पतालले दैनिक ३ देखि ६ सय आँखाका बिरामीले लाभ लिने अपेक्षा गरिएको बताएका छन् । ‘अस्पतालबाट मधेस प्रदेशकासहित तराईका अघिकांश जिल्ला र सीमा क्षेत्रका भारतीय नागरिकले पनि उपचारका पाउनेछन्’, उनले भने– ‘अबको केही वर्षपछि नै वार्षिक रूपमा आठदेखि दश हजार मानिसको आँखाको शल्यक्रिया निजगढमै गर्ने योजनासहित काम अघि बढेको छ ।’
उनले गरिब तथा असाहयहरुले अस्पतालबाट सुलभ रुपमा उच्च गुणस्तरको आँखा हेरचाह प्राप्त गर्नसक्ने छन् । मोफसलकै ठूलो आँखा अस्पतालका रूपमा रहेको निजगढ तिलगंगा अस्पतालको लागत १७ करोड अनुमान गरिएकोमा बढेर १९ करोड पुगेको थियो ।
अस्पतालले बहिरंग सेवा, विशेषज्ञ सेवा, विस्तारित सेवा र नियमित शल्यक्रिया सेवा प्रदान गर्नेछ ।