नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’लाई ६० हजार युरो अनुदान

काठमाडौं । निर्माणाधीन नेपाली कथानक चलचित्र ‘एक मुठ्ठी बादलः माई सेयर अफ स्काई’ नेदरल्यान्डको ह्युबर्ट बाल्स फण्ड पोस्ट–प्रोडक्सनबाट अनुदानका लागि चयन भएको छ । यस अन्तर्गत चलचित्रले ६० हजार युरो आर्थिक सहयोग प्राप्त गर्ने भएको छ । जुन ८७ लाख नेपाली रुपैँया बराबर हुन आउँछ ।

‘एक मुठ्ठी बादल’ की निर्देशक साहारा शर्मा ह्युबर्ट बाल्स फण्डको पोस्ट–प्रोडक्शन अनुदान जित्ने पहिलो नेपाली महिला निर्देशक हुन् । गौथली इन्टरटेन्मेन्ट (नेपाल), थर्ड कल्चर किड्स (जर्मनी) र क्रोमोजोम फिल्म (जर्मनी) को सहनिर्माण रहेको यो फिल्म नेपालकै पहिलो महिला प्रधान अन्तर्राष्ट्रिय स्तरमा सह–निर्मित चलचित्र हो ।

यस फिल्ममा नेपालबाट निर्माता ‘मन प्रडक्सन’ र ‘अन्डरग्राउन्ड टकिज’ पनि निर्माणमा सहभागी रहेका छन् । यस् चलचित्रका अन्य प्रमुख निर्माताहरूमा नेपालबाट अनुप पौडेल र सामिप्यराज तिमल्सेना रहेका छन् भने कार्यकारी निर्माताका रूपमा निकुन श्रेष्ठ संलग्न छन् । साथै जर्मनीबाट रोक्शाना रिचर निर्माताको रुपमा रहेकी छिन् ।

विवाहको पृष्ठभूमिमा बुनिएको ‘एक मुठ्ठी बादल’ले घरभित्रको सीमित दायराभित्र स्वतन्त्रताको सपना देख्ने एक युवतीको कथा प्रस्तुत गर्दछ । युवतीमाथि समाजले राखेका अनेकन अपेक्षा र आफूभित्र निसास्सिरहेको उनको स्वतन्त्रताको चाहनाबीच उत्पन्न द्वन्द्वलाई चलचित्रले उजागर गर्दछ ।

गृहिणी हुनुका साथसाथै पारिवारिक जीवनको पनि केन्द्रमा रहेका नेपाली समाजका कैयौँ महिलाका अनेक अदृश्य त्याग, संघर्षलाई र निःस्वार्थ योगदानलाई चलचित्रले कथानकमा समेटेको छ ।

चलचित्रमा निशा शर्मा, शेखर चापागाईं, आँचल शर्मा, उषा रजक, मनिष निरौला, सहयोग अधिकारी, गौरव बिष्ट, अविरल प्रताप अधिकारी, भीमा मैनाली, अश्मिता गौतम आदि कलाकारको अभिनय रहेको छ ।

The post नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’लाई ६० हजार युरो अनुदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103085/