नेपाल-बंगलादेशबीच ऊर्जा व्यापार सम्झौता हुँदै

काठमाडौं ।

लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बंगलादेश जाने भएको छ। भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता हुने भएको छ।

दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएपछि लामो छलफलपछिको प्रयास सफल हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिरञ्जीवी चटौतले जानकारी दिए। बंगलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल भएको थियो।

दुई देशका ऊर्जा सचिस्तरीय संयुक्त निर्देशक समितिको छैटौँ बैठकले सम्झौता गर्ने निर्णय गरेको छ। प्रवक्ता चटौतका अनुसार पहिलो चरणमा ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुनेछ। सम्झौतामा नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्र्ड र भारतीय नोडज एजेन्सी एनटिपीसी विद्युत् व्यापार निगमबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर हुनेछ। बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, बंगलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम तय भएको प्रवक्ता चटौतले जानकारी दिए।

यस्तै, सुनकोशी तेस्रो जलविद्युत् आयोजना नेपाल, बंगलादेश र भारतबीच सहकार्यपूर्ण सहभागिताका आधारमा विकास गर्ने र सो आयोजना विकास गर्ने सम्बन्धमा प्राधिकरण र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी संयुक्त उपक्रम सम्झौता आगामी बैठकअगावै टुङ्गो लगाउने सहमति भएको छ ।

नेपाल र बंगलादेशबीच विद्युत् व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनको प्राविधिक र आर्थिक पक्षको अध्ययन गरिनेछ । नेपालको जलविद्युत् क्षेत्रमा लगानी प्रवर्द्धनका लागि बंगलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न व्यावसायिक सम्मेलन आयोजना गर्ने सम्बन्धमा सम्भावनाहरूको खोजी गरिनेछ । वैकल्पिक ऊर्जाको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र बंगलादेशको समान कार्य गर्ने संस्थाबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रलाई आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी अन्तिम रूप दिने र हस्ताक्षर गर्ने विषयमा पनि दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा सहमति भएको छ ।

यस्तै, नेपाल, बंगलादेश र भारतबीच विद्युत् व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायत विद्युत् क्षेत्रमा सहकार्यका लागि द्विपक्षीय बैठकमा त्रिपक्षीय संयन्त्र बनाउन आ-आफ्नो तर्फबाट पहल गरिनेछ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् बंगलादेशले खरिद गर्ने सम्बन्धमा बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) बीच हुने विद्युत् व्यापार सम्झौताका सन्दर्भमा बंगलादेशले नेपाली अधिकारीलाई जानकारी गराएको थियो ।

१ जेठ २०८० मा नेपालका तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव चटौत तथा बंगलादेशको विद्युत् ऊर्जा तथा खनिज मन्त्रालयका अतिरिक्त सचिव डा. साइद मासुम अहमद चौधरीको सहअध्यतामा बसेको संयुक्त कार्य समूहकोे छैटौँ बैठकले तय गरेको कार्यप्रगति पेस गरिएको थियो। त्यसमा अन्तरदेशीय विद्युत् प्रसारण लाइनको निर्माण तथा व्यवस्थापन गर्ने, सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको निर्माण तथा विकास प्रक्रिया अगाडि बढाउने, प्रसारण प्रणालीको विकास गर्नेलगायत विषयमा समावेश थिए।

गत असारमा नै विद्युत् व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको थियो। दुई देशका ऊर्जा सचिवस्तरीय बैठकका अवसरमा सम्झौताको तयारी गरिए पनि अन्तिममा स्थगित भएको थियो। बंगलादेशमा भएको राजनीतिक परिवर्तनका कारण नेपाल, भारत, बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा सम्झौताको तयारी गरिए पनि अन्तिम समयमा आएर स्थगित भएको जनाइएको छ।

बंगलादेशको अन्तरिम सरकारले बिजुली लैजाने विषयमा सघन छलफल गरिरहेको र आवश्यक पहल भइरहेको थियो। नेपालले भारतीय प्रसारण लाइनको प्रयोग गरी वर्षायाममा बंगलादेशमा विद्युत् निर्यात गर्नेछ।

यस्तै, कुल छ सय ८० मेगावाटको सुनकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण र विकासका लागि नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम सम्झौता हस्ताक्षरका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ। यो अर्को महत्त्वपूर्ण विषय हो ।

प्राधिकरणले पाँच वर्षसम्म वर्षायामका छ महिना ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गरिने जनाएको छ। प्रतियुनिट आठ रुपैयाँ १७ टाका (नौ रुपैयाँ ३० पैसा) मा प्राधिकरणले बिजुली बिक्री गर्ने छ।

नेपाल र भारतबीच विद्युत् आयात निर्यातका लागि हाल सञ्चालनमा रहेको ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय लाइन हुँदै भारतीय भूमिमा रहेको बहरामपुर–भेरमारा चार सय केभी प्रसारण लाइन हुँदै बिजुली बंगलादेश जाने छ।

Source : https://newsofnepal.com/2024/10/03/671486/