पर्खालमै सीमित बन्यो बाणगंगाको नगर औद्योगिक ग्राम

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकामा निर्माण अधीन अवस्थामा रहेको नगर औद्योगिक ग्राम अलपत्र बनेको छ। सङ्घीय सरकारको अनुदानबाट नगरपालिकाको वडा नम्बर ९ वर्दहवामा निर्माण हुँदै गरेको नगर औद्योगिक ग्राम ४ वर्ष देखि अलपत्र परेको हो ।

कोइली नदीको किनारमा रहेको ८.९३ हेक्टर क्षेत्रफल जग्गालाई २०७७ सालमा डिपिआर गरी औद्योगिक ग्राम बनाउने योजना ल्याएको थियो । डिपिआर अनुसार उक्त क्षेत्रफलमा निर्माण हुने औद्योगिक ग्राममा ५१ करोड रुपैयाँ खर्च हुने अनुमान रहेको छ । डिपिआर भएको पहिलो वर्ष ४१ लाख ९४ हजार रुपैयाँ खर्चमा स्थलको पश्चिम तर्फ पर्खाल निर्माण गरिएको नगरपालिकाका सूचना अधिकृत केशव भट्टराईले बताए ।

“निर्माण स्थलको एक तर्फ मात्र पर्खाल लगाइएको छ । नदीको बहावले कटान गर्ने क्षेत्रमा कुनै काम भएको छैन।सङ्घीय सरकारले बजेट कटौती गर्दा औद्योगिक ग्राम अलपत्र परेको छ “ भट्टराईले बताए ।

योजनाको लागि ०७७÷०७८ बाट बजेट विनियोजन नभएको कार्यालयले जनाएको छ । उद्योग सञ्चालनको प्रचुर सम्भावना रहेको पालिकामा काम रोकिँदा उद्यमीलाई समस्या हुने स्थानीय नवराज बेल्बासेले बताए ।

५ वर्ष भित्र निर्माण सम्पन्न गर्ने योजना बाउण्ड्री बालमा मात्र सीमित रहेकोले उद्योग सञ्चालन गर्नका लागि जग्गा खरिद गर्न महँगो मूल्य खर्चिनु पर्ने बाध्यता रहेको बेल्बासेले बताए ।

The post पर्खालमै सीमित बन्यो बाणगंगाको नगर औद्योगिक ग्राम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101718/