पर्यटक लोभ्याउँदै म्याग्दीको जलजला क्षेत्र… (तस्विरहरु)
काठमाडौँ । ठूलो जंगलको बिचमा घाँसेमैदान । आँखै अगाडि पुथा, गुर्जा, मानापाथी, धवालागिरी लगायत दर्जनभन्दा बढी हिम शृङ्खला । विभिन्न जंगली फूलहरुले भरिएको मैदान । यो ठाउँ हो, गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका-२ मा रहेको जलजला क्षेत्र ।
पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा पर्ने जलजला पछिल्लो समय पर्यटकको रोजाइमा परेको छ । द्वन्द्वकालको प्रख्यात गुरिल्ला पदमार्गमा पर्ने जलजला म्याग्दी जिल्लामा पर्छ । गुरिल्ला पदमार्ग म्याग्दीबाट सुरु भएर जलजला हुँदै बाग्लुङगको ढोरपाटन, रुकुमको भूभाग छिचोल्दै रोल्पामा गएर टुङ्गिन्छ । जलजला समुद्री सतहबाट तीन हजार चार सय २० मिटर उचाइमा रहेको छ ।
जलजलाबाट बिहानै सुर्योदयको मजा लिँदै आँखै अगाडि सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जलजलामा बर्खामा गोठ राख्न म्याग्दी, बागलुङबाट गोठालोहरु भेँडा, बाख्रा र बस्तुभाउ चराउन आउने गर्छन् ।
जलजलासम्म पुग्न ढोरपाटनको पाखाथरबाट कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टाको यात्रा गर्नुपर्छ । पैदलयात्रा गर्न ढोरपाटनबाट गुर्जाघाट हुँदै तल्लो जलजला सम्म ५ देखी ६ घण्टा लाग्छ । बेनीबाट धवलागिरी गाउँपालिकाको मुना हुँदै खोरियासम्म गाडी मा जान सकिन्छ । त्यहाँदेखि ५ घण्टा उकालो यात्रा गरेपछि जलजला पुग्न सकिन्छ । बाँकी तस्विरमा हेर्नुहोस्ः
Source : https://arthasarokar.com/2024/11/the-floodplain-area-of-myagdi-attracting-tourists-photos.html