बजार अनुगमनमा तीव्रता: एउटै सामानको एकै दिनमा तीनपटक मूल्य परिवर्तन

कैफियत
–भित्री सहरका पसल दर्ता नभएको
–मूल्य सूची नराखेको
–म्याद गुज्रेको सामग्री बिक्री
–खरिदबिक्री बिल नदिनु

काठमाडौं ।

बजार अनुगमन टोलीले खाद्यान्न र तरकारीजन्य सामग्रीको मूल्यसूची दिनको तीनपटकसम्म परिवर्तन गरी बिक्री गर्ने गरेको खुलेको छ । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले १० गतेयता दैनिक अनुगमन गर्दा यस्तो फेला परेको हो। व्यवसायीले दाल, चामल र आलुको मूल्य परिवर्तन गर्ने गरेको फेला पारेको छ।

‘कामपा कृषि तथता पशुपंक्षी विभागले सरकारको अंगसँग समन्वय गरी १० गतेदेखि लगातार अनुगमन जारी राखेको छ। अनुगमनका क्रममा कोरक्षेत्रका अधिकांश व्यापारीले व्यवसाय दर्ता नगरेको फेला परेको थियो। उहाँहरूलाई व्यवसाय दर्ता गर्न आग्रह गरेका छौं’ –अनुगमन टोलीका सदस्य एवं फुड टेक्नोलोजिस्ट अनिल बस्नेतले भन्नुभयो।

उहाँका अनुसार राजधानीका केही व्यवसायीले दिनमा तीनपटकसम्म मूल्य बढाउने गरेको फेला पारेको थियो। बिहान, दिउँसो र बेलुकी फरकफरक मूल्यसूची राख्ने गरेको फेला पारेपछि टोलीले सचेत गराएको थियो । टोलीले असोज १० गतेयता लगातार अनुगमन जारी राखेको छ।

विभाग प्रमुख नूरनिधि न्यौपानेले हालसम्म १ सय ६० वटा पसलमा अनुगमन गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘हाम्रो अनुगमन वर्षैंपिच्छे जारी रहन्छ, चाडबाड भएको कारण हाललाई तीव्रता दिएका हौ। कामपाले बजारमा खाद्यान्न, फलफूल, मासुजन्य, दूधजन्य पदार्थ अनुगमन गर्न ४ जना फुड टेक्नोलोजिस्ट नियुक्ति गरेको छ।

यो वर्षबाट अनिल बस्नेत, अशोक पराजुली, संजोक्ता थापामगर र रोजिना श्रेष्ठको टोलीले बजार अनुगमन जारी राखेको छ। टोलीमा योजना तथा अनुगमन, राजस्व, महानगर प्रहरीलगायत समावेश छन्। टोलीले हालसम्म बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चाबहिल, मैजुबहाल, कुमारीगाल, न्युरोड, असन, पुतली सडक, ज्ञानेश्वरलगायत क्षेत्रका व्यवसायमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादन भेटिएको थियो । ‘८२ वटा पसलमा देखिने गरी मूल्यसूची राखिएको थिएन । टोलीले अनिवार्य रूपमा मूल्यसूची राख्न लगाएको थियो । अधिकांश कोरक्षेत्रमा सञ्चालन भएका व्यापारीले व्यावसाय दर्ता गरेका थिएनन्, हामीले सम्बन्धित वडामा सम्पर्क गरी सात दिनभित्र व्यवसाय दर्ता गर्न निर्देशन दिएका छौं’ –फुड टेक्नोलोजिस्ट बस्नेतले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

टोलीले चाडपर्वमा फलफूल, माछामासु, दूध तथा दुग्ध पदार्थको धेरै प्रयोग हुने गरेकाले त्यस्ता वस्तुको अनुगमन गरेका जनाएको छ। व्यापारीले चाडबाडको मुखमा बढी ठगी गर्ने गरेका हुन्छन्। यस बेला तौल र गुणस्तरका आधारमा मूल्यमा ठगी हुने विभागको दाबी छ।

अनुगमनका क्रममा मूल्य सूची नराख्नु, खरिदबिक्री बिलको प्रयोग नहुनु, अधिकतम मूल्य र उपभोग्य मितिको ख्याल नहुनु आम समस्या देखिएको छ। यस्तै, व्यवसाय दर्ता नगर्नु, म्याद सकिएका सामान राख्ने कक्ष नहुनु जस्ता समस्या साझा रूपमा रहेको विभागको भनाइ छ।

पसलमा बेच्न राखिएका सामानमध्ये प्याकेजिङ गरिएका जुस, कुकिज, बिस्कुट, चकलेट, भुजिया, घिउ, अचार, विभिन्न खालका मसलाहरू, भिनेगर, केचअप जामजस्ता खाद्य तथा पेय पदार्थमा गुणस्तरको समस्या देखिएको छ। म्याद गुज्रेका समानसमेत बिक्रीमा राखिएको पाइएको छ।

अनुगमनका क्रममा बिक्रीका लागि राखिएका खाद्य सामग्री तथा पेय पदार्थको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्यजस्ता पक्ष हेर्ने गरिएको छ । त्यस्तै, पसलमा म्याद गुज्रिएका सामान राख्ने ठाउँको व्यवस्था, बिक्री कक्षको प्रबन्ध, खरिद तथा बिक्री बिल, दर्ता तथा नवीकरण जस्ता सूचकका आधारमा अनुगमन गरिन्छ।

उपभोक्ताले सुलभ मूल्यमा स्वच्छ र गुणस्तरीय सामान प्रयोग गर्न सकून् भन्ने उद्देश्यले अनुगमन गरिएको विभागको भनाइ छ । तर, केही व्यापारीले मनपरी रूपमा मूल्यवृद्धि र कालाबजारी गर्ने गरेको फेला परेको छ। ‘सुरक्षा, सुनुवाइ, क्षतिपूर्ति र छनोट उपभोक्ताका प्रमुख ४ वटा अधिकार छन्।

यी अधिकारको प्रत्याभूत गराउन अनुगमनलाई तीव्रता दिएको हो। विभागीय प्रमुख न्यौपानेले कैफियत गर्नेमाथि उपभोक्ता संरक्षण ऐनअनुसार अनुगमन गरी कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको स्पष्ट पार्नुभयो।

Source : https://newsofnepal.com/2024/10/09/672700/