बोका बली शुल्क वृद्धिको सर्वत्र विरोध
धार्मिक आस्थाको केन्द्र राजदेवी मन्दिरमा वर्षेनि बोका बली प्रदान हुँदै आएको शुल्क वृद्धिको सन्दर्भमा सर्वत्र विरोध भइरहेको छ । केही वर्षदेखि प्रत्येक वर्ष विभिन्न नाममा हुँदै आएको प्रति बोका बलीका लागि निर्धारण गर्दै आएको शुल्कको विरोध भएपछि पनि सरोकारवाला मौन देखिएका छन् ।
सो बोका बलीको व्यवस्थापन गुठी संस्थानले गर्नुपर्ने भए पनि स्थानीय युवा क्लबको हस्तक्षेपका कारण मनोमानी बढ्दै गएको छ । जसको परिणाम स्वरुप प्रत्येक वर्ष बोका बलीको लागि छुट्याइने गरिएको सहयोग वापतको शुल्क वृद्धि गरिँदै आएको छ ।
विगत वर्ष झैँ यस वर्ष पनि राजदेवी मन्दिरको व्यवस्थापनमा लागेका महावीर युवा कमिटीले एक सय रुपैयाँ मूल्य वृद्धि गर्दै प्रत्येक बोका बली वापत यस वर्ष तीन सय रुपैयाँ शुल्क निर्धारण गरेको छ । महावीर युवा कमिटीका अध्यक्ष अजयकुमार गुप्ताले यसपटक थप एक सय रुपैयाँ वृद्धि गर्दै तीन सय रुपैयाँ प्रति बोका बली वापत शुल्क निर्धारण गरिएको जानकारी दिए । सो शुल्क वृद्धि गरिए लगत्तै स्थानीयवासीहरुले विरोध समेत गरिरहेका छन् ।
आर्थिक मन्दीको चपेटा र अर्कोतर्फ बाढी डुबानका कारण मधेश प्रदेशमा सर्वसाधारण सास्ती खेपिरहेको भन्दै धार्मिक आस्थामाथिसमेत शुल्क वृद्धि गरेर व्यापार गर्नु गलत रहेको सामाजिक संजालमा टिप्पणी हुन थालेको छ । केही वर्षदेखि एक सय रुपैयाँ लिँदै आएको प्रति बोका बली वापतको शुल्क विगत वर्ष दुई सय रुपैयाँ निर्धारण गरिएको थियो । त्यतिबेला स्थानीय युवाहरुले भने खासै विरोध गरेनन् ।
तर यस वर्ष आर्थिकमन्दी, बाढीपहिरो र डुबान तथा धार्मिक आस्थालाई देखाएर मुल्य वृद्धि गरेकोमा महावीर युवा कमिटीले निर्धारण गरेको शुल्कको चर्को विरोध भइरहेको छ । महावीर युवा कमिटीले बोका बली वापत तीन सय रुपैयाँ शुल्क निर्धारण गरेपछि सामाजिक संजाल फेसबुकमा प्राध्यापक श्यामसुन्दर शशीले चन्दा र बोकाबलीको शुल्कको रकमले भिआइपी र भिभिआइपीलाई खादा र माला लगाउनु ठिक नरहेको टिप्पणी गरेका छन् ।
त्यस्तै सुशील कर्णले समेत उनलाई समर्थन गर्दै भगवतीको भाकल पूरा गर्नका लागि पनि शुल्क वृद्धि भएको भन्दै सबैको ध्यानाकर्षण गर्दै सो शुल्क वृद्धि अबिलम्ब फिर्ता लिन माग गरेका छन् । तर महावीर युवा कमिटीका अध्यक्ष गुप्ताले भने, ‘बोका वली प्रदानका लागि गर्नुपर्ने व्यवस्थापन, फोहोर, दुर्गन्धको व्यवस्थापन, राजदेवी माताको पूजाआजाको व्यवस्थापन, भीडभाड ताथ मेला व्यवस्थापन, सौन्दर्यकरण, बोकाबलीका लागि आउने गरेका भक्तजनहरुका लागि भोजनलगायतका विभिन्न व्यवस्थापनमा खर्च हुने गरेकाले प्रति बोका बली वापत ३ सय रुपैयाँ शुल्क निर्धारण गरिएको हो ।’ गत वर्ष झँै यस वर्ष पनि राजदेवी मन्दिरको विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।
यस वर्ष विगत वर्ष झैँ युवा कमिटीहरुले प्रहरीसंग समन्वय गरी सुरक्षा व्यवस्थापन गर्ने उनले बताए । तर विगत वर्षमा महावीर युवा कमिटीले पूजा व्यवस्थापनमा खटिएका एक युवकले नै महिलाको सुनको गरगहना र केही थान बोकासमेत गायब गरेको भन्दै विवाद भएको थियो । चोरी गरेको आरोप लागेका र बोका समेत चोरेका स्वयंसेवकलाई भने प्रहरीले समेत केही नगर्दा स्थानीय भक्तजनलाई अझै पनि भगवतीको भक्तिको क्रममा चोरी हुने भन्दै चिन्ताले सताइरहेको छ ।
The post बोका बली शुल्क वृद्धिको सर्वत्र विरोध appeared first on Janakpur Today.