माथिल्लाे क्षेत्रबाट लच्किएपछि राजदुवाली सडक मर्मत जाेखिम

इलाम । माथिल्लो क्षेत्रमा धाँजा फाटेर झनै जोखिमपूर्ण भएपछि मेची राजमार्गको राजदुवालीमा भइरहेको मर्मतको काम स्थगित गरिएको छ । अविरल वर्षापछि पहिरो झरेर दुई दिनयता पूर्ण रूपमा बन्द रहेको मेची राजमार्ग मर्मतको काम आइतबार सक्ने लक्षसहित सुरु गरिएको थियो । तर, मर्मत गरेभन्दा माथिल्लोपट्टिबाट झनै ठूलो पहिरो आउने सम्भावना बढेपछि काम स्थगित गरिएको हो ।

शुक्रबार राजदुवाली–गोलाखर्क खण्डमा पर्ने यो ठाउँमा काम सुरु गर्नेबित्तिकै माथिबाट पहिरो झरेपछि सवारीका साधन बन्द थिए ।
शनिवार बिहानैदेखि सडक डिभिजन, सशस्त्र प्रहरी र नेपाली सेनासहितको टोलीले राजमार्ग मर्मत गर्दैथिए ।

तर, माथिपट्टि धाँजा फाटेर पहिरोको खतरा भएपछि काम रोकिएको डिभिजन प्रमुख पवन भट्टराईले बताए । ‘यो खण्डको एक किलोमिटरभित्र दर्जनौं ठाउँमा पहिरोको जोखिम छ, गोलाई धेरैवटा भएकाले एक ठाउँ बनाउँदा अर्काे ठाउँमा खतरा पुगिहाल्छ,’ उनले भने, ‘पानी आयो भने ठूलो पहिरोको खतरा छ ।’

दसैंको मुखमा राजमार्ग क्षतिग्रस्त भएपछि सयौं यात्रुले दुःख पाएका छन् । यी तीन जिल्लामा खाद्यान्न, पेट्रोलियम लगायत दैनिक उपभोग्य सामग्री ल्याउनसमेत समस्या भएको इलाम उद्योग वाणिज्य संघले जनाएको छ ।

अब यो राजमार्ग मर्मतको काम के हुने भन्ने अन्योल छ । अहिले यात्रुहरू मेची राजमार्ग नै भएर माइखोलासम्म आउने, इलाम बजारबाट पनि गाडीमा पहिरो झरेको ठाउँसम्म जाने र करिब दुई सय मिटर पैदल हिँडेर यात्रा गरिरहेका छन् ।

यसबाहेक वैकल्पिक सडकका रूपमा इलामबाट तिल्केनी–माइखोला–हात्तीटार–शुक्र’bout–गुप्ती–फिक्कल हुँदै यात्रुहरू यात्रा गर्दैछन् । तर, वैकल्पिक सडकमा साना सवारीका साधन चलेपनि मालबाहक साधन चल्ने अवस्था छैन ।

The post माथिल्लाे क्षेत्रबाट लच्किएपछि राजदुवाली सडक मर्मत जाेखिम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101810/