यसपालिको तिहारमा फूलको अभाव हुने
काठमाडौं । तिहार नजिकिएसँगै फूलको मूल्य बढ्ने भएको छ । तिहारका लागि यथेष्ट मात्रामा फूल काठमाडौंलगायतका सहरी इलाकामा आइनपुगेका कारण फूलको मूल्य बढ्ने सम्भावना बढेको हो । गत १०, ११ र १२ असोजमा परेको अविरल वर्षाका कारण पुष्पखेतीमा समेत क्षति पु¥याएका कारण यथेष्ट मात्रामा फूलको आयात नभएको हो ।
मूल्य बढ्ने र भारतबाट आयात गरिने
पुष्पखेतीमा क्षति पुगेको जानकारी भए पनि तिहारलाई नै असर पर्नेगरी यति धेरै क्षति पुगेको अनुमान गरिएको थिएन । नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्षको तिहारका लागि खासगरी सयपत्री फूलको अभाव खड्किने र मूल्य बढ्ने संकेत मिलेको छ ।
फूल फूल्ने समयमा भएको अविरल वर्षाले पुष्पखेतीमा क्षति पुगेको र गत वर्षको तुलनामा फूलको उत्पादन कम भएका कारण मूल्य बढ्ने आँकलन गरिएको हो । गत वर्षजस्तै अधिक फूल फुलेर बाटोमै फाल्नुपर्ने हो कि भनेर अनुमान गरिएकामा हालसम्म पनि फूलको आयात यथेष्ट मात्रामा नभएका कारण पुष्पखेतीमा करोडौंको क्षति पुगेको पुनः आँकलन गरिएको छ ।
फ्लोरिकल्चर एसोसिएसनका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले यस वर्ष सयपत्रीको पुष्पखेतीमा बढी वर्षाको प्रभाव देखिएको र फूल आयात गर्न सरकारको स्वीकृति नभएका कारण मूल्य बढ्ने भएको हो ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले १६ किसिमका रोगमुक्त भएको प्रमाण नगरेरसम्म आयातमा रोक लगाएका कारण सयपत्रीको फूल आयात नहुने भएको हो । सयपत्री फूलको सट्टामा नेपालमै उत्पादित फूलले धान्नुपर्ने अवस्था रहेको छ ।
फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेले भने तिहारमा भारतबाट १५ लाख माला आयात हुने बताए । यस वर्षको वर्षालगायतका यावत कारणले प्रतिमाला ८० देखि ८५ रुपैयाँ पर्ने अनुमान गरिएको छ । गत वर्ष ६५ देखि ७० रुपैयाँसम्म एउटा मालालाई परेको थियो ।
चितवनमा भने यसपटक प्रतिमाला सय रुपैयाँ निर्धारण गरिएको छ । भक्तपुर गुण्डुका राम कार्कीले यस वर्ष धेरै पानी परेकाले फूल राम्रो नभएको बताए । उनले भने एउटा मालाको २५ रुपैयाँसम्ममा बेच्ने गरेको बताए । मूल्य विगतको झैं यस वर्ष पनि २० रुपैयाँ नै रहेको बताए । आफूसँग किनेर लैजानेहरूले बढी नाफा खाने गरेको तर किसानलाई २० रुपैयाँभन्दा बढी नदिने गरेको गुनासो उनको छ ।
निर्धारित मूल्यभन्दा बढीमा बिक्री नगर्न फूल खेती गर्ने कृषक तथा बिक्रेतालाई एसोसियसनले आग्रह गरेको छ । सयपत्री फूल प्रतिकिलो ४ सयदेखि ४ सय ५० रुपैयाँ कायम गरिएको कृषकले बताएका छन् । अविरल वर्षाका कारण करिब १५ करोडको फूल नोक्सान भएको तथ्यांक रहेको छ ।
गत वर्षको तिहारमा ३३ लाख माला खपत भएको थियो । बजार मागको ६० प्रतिशत फूल काठमाडौं उपत्यकामा प्रयोग हुने गरेको छ ।
फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्षको तिहारमा बजार माग ४० लाख मालाको हुने अनुमान रहेको छ । स्वदेशी उत्पादनबाट २५ लाख माला मात्र बन्ने अनुमान गरिएको छ । यही कारणले गर्दा तिहारका लागि १५ लाख मालालाई आवश्यक पर्ने फूलको आयात हुने एसोसिएसनको भनाइ छ ।
चितवनमा यस वर्ष ४० बिघा क्षेत्रफलमा करिब ३ लाख सयपत्री माला हुने फूल खेती भएको तथ्यांक एसोसियसनले सार्वजनिक गरेको छ । नेपालमा २००७ सालदेखि सुरु भएको पुष्प व्यवसाय कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा विस्तार भइसकेको छ ।
नेपालमा अहिले व्यावसायिक रूपमा ४ सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । हाल ५२ जिल्लामा लगभग २ सय ६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरिरहेका छन् भने १ हजार १ सय ७४ भन्दा बढी पुष्प व्यवसायीहरू संलग्न रहेको यस व्यवसायमा ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको लगानी रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।
आर्थिक वर्ष २०७५–७६ मा फूलको वार्षिक कारोबार २ अर्ब ४२ करोड रुपैयाँ रहेकामा आव २०७९–८० मा ३ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको तथ्यांक छ ।
अघिल्लो वर्षको तुलनामा आव २०८०–८१ मा १९ दशमलव ८६ प्रतिशतले वृद्धि भई ३ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
एसोसिएसनका अनुसार आव २०७५–७६ मा ६० करोड ५९ लाखको फूल आयात भएको थियो भने आव २०७९–८० मा ६८ करोड १८ लाख रुपैयाँको फूल आयात भएको थियो ।
यसैगरी, आव २०७५–७६ मा २३ करोड ७७ लाख रुपैयाँको फूल निर्यात भएको थियो भने आव २०७९–८० मा ३३ करोड ६ लाख रुपैयाँको निर्यात भएको थियो ।
भन्सार विभागको तथ्यांकनुसार यसै आव २०८०–८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक निर्यात कारोबार १ करोड २ लाख १२ हजार रुपैयाँ भएको छ भने आयाततर्फ २७ करोड ७९ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन (फ्यान)का अनुसार यस वर्ष गत वर्षभन्दा ५० हजारबढी माला निर्यात हुन लागेको हो । गत वर्ष १ लाख ५० हजार माला मात्र निर्यात भएको थियो ।
निर्यात हुने माला विशेषगरी अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया युरोपका केही देश र केही खाडी मुलुकमा हुनेछ । खासगरी बसाइँसराइ गरेका र बिदेसिएका नेपालीको संख्या अधिक भएका मुलुकमा नेपाली फूल निर्यात हुने गरेको छ ।
नेपालमा व्यावसायिक रूपमा ४ सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले लाभ लिएको एसोसिएसनको तथ्यांक छ ।
The post यसपालिको तिहारमा फूलको अभाव हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/102908/