यूएफसीका पहिलो दुई डिभिजन च्याम्पियन म्याकग्रेगोर

विद्यालयका साथीहरूको हेपाईबाट बच्न मार्सल आर्ट्स र बक्सिङ सिक्न थालेका एक गरिब केटा, जो दिनभरि प्लम्बिङ काम गरेर राति जिममा ट्रेनिङ गर्थे, उनै हुन् चर्चित आइरिश मिक्स्ड मार्सल आर्ट्स फाइटर कोनर एन्थोनी म्याकग्रेगोर ।

म्याकग्रेगोरको जन्म १४ जुलाई १९८८ मा आयरल्याण्डको राजधानी डब्लिन भएको थियो । एउटा गरिब आईरिश बस्तीका ट्याक्सी चालकका छोरा म्याकग्रेगोर विद्यालयमा अरु विद्यार्थीबाट सधैं पीडित बन्थे । यही पीडाबाट मुक्त हुन उनी १२ वर्षको उमेरमा बक्सिङतिर आकर्षित भए । अनि बक्सिंग सिक्न थाले ।

बक्सिङप्रति उनको लगाव बढ्दै गएपछि उनी दिनभरि प्लम्बिङको काम गरेर रातपरेपछि जिममा बक्सिंगको ट्रेनिङ लिन्थे । बिहान ५ः०० बजे निन्द्राबाट ब्युँझिएपछि उनी १२ घण्टा एउटै काममा व्यस्त हुन्थे । अनि दिनभरिको कामपछि सिधैं जिम पुगेर ट्रेनिङ गर्दा निकै थाक्थे । यस्तै कष्टपूर्ण दैनिकी थियो उनको ।

यस्तै क्रममा उनको एकजना डी देभलीन नामकी महिलासँग मित्रता भयो । मित्रता प्रेममा बदलिएसँगै विवाहमा हुनपुग्यो । प्रेमिकाबाट पत्नी बनेकी देभलीनबाट म्याकग्रेगोरले नसोचेको साथ र समर्थन पाए । देभलीन जो आफैं एक सफल महिला हुन, उनले कडा परिश्रम र समर्पणलाई पहिचान गरी सधैं म्याकग्रेगोरलाई उकास्न मद्दत गरिन् । म्याकग्रेगोरले पनि प्रायः आफ्नो सफलतापछाडी आफ्नो पत्नीको विश्वास र समर्थन रहेको बताउँदै आएका छन् । उनीहरूले एकअर्कालाई व्यक्तिगत र व्यावसायिक जीवनमा सधैं सघाए ।

पत्नीको साथले बलियो धरातल बनाएका म्याकग्रेगोरले प्लम्बिङको काम छोडेर पुरै समय ट्रेनिङलाई दिन थाले । काम छोडेर खेलमा समय बर्बाद गरेको देख्दा केही मानिसहरूले त उनको मजाक समेत उडाएका थिए । तर, म्याकग्रेगोर विचलित भएनन् । उनी आफ्नो लक्ष्यप्रति अझ दृढ बन्दै गए ।

हुन त उनले १८ वर्षकै उमेरमा पहिलो पटक एमेच्योर एमएमए फाइटमा जित हात पारेका थिए । जुन उनको करियरको टर्निंग प्वाईन्ट पनि हो । तर, त्यो सफलता त्यति सजिलै प्राप्त भने भएको थिएन । पाँच वर्षसम्म एउटा चिसो जिममा ट्रेनिङ गरेपछि पाएको सफलता थियो त्यो । त्यसपछि सन् २०१३ मा म्याकग्रेगोरले यूएफसीमा आफ्नो डेब्यू फाइट खेल्यो । जित म्याकग्रेगोरकै भयो । त्यस जितबाट उनले ६० हजार अमेरिकी डलर कमाए । विस्तारै उनी यूएफसीमा जम्दै गए ।

उनीसँग खेल्न जो कोही पनि हच्किने माहौल उनले सिर्जना गरे । यो सिलसिला चल्दै गयो । यतिसम्म कि म्याकग्रेगोर यूएफसीको दुई डिभिजन च्याम्पियन बन्ने पहिलो व्यक्ति समेत बने । यो एउटा ठूलो उपलब्धि हो । यद्यपी उनी लामो समयसम्म त्यस उँचाईमा टिक्न पनि सफल भए ।

संघर्षले भरिएको पृष्ठभूमिबाट करोडपति बन्दै दुई डिभिजन यूएफसी च्याम्पियन बनेका म्याकग्रेगोरले आफ्नो करियरलाई स्वर्णिम अक्षरले दर्ता गराउने जिद्धिपनालाई मूर्त रुप दिएरै छाडे । सन् २०२४ को मार्चमा पुरानो अंग्रेजी चलचित्र ‘रोड हाउस’ को रिमेकमा समेत अभिनय गरेका म्याकग्रेगोरको सफलता ती सबैका लागि प्रेरणा हो, जसले कठिनाइ र प्रतिकूलताका बावजूद आफूले देखेको सपनालाई साकार पार्ने लक्ष्य लिएका छन् ।

म्याकग्रेगोरका केही प्रमुख उपलब्धिहरू :

म्याकग्रेगोरले यूएफसीको फेडरवेट (१४५ पाउन्ड) तौल समूहको च्याम्पियन बन्ने क्रममा सन २०१५ मा जोसे आल्दोलाई मात्र १३ सेकेन्डमा हराएर इतिहास रचेका छन । यूएफसी इतिहासमा यो सबैभन्दा छिटो नकआउट हो ।

म्याकग्रेगोरले यूएफसीको लाइटवेट (१५५ पाउन्ड) तौल समूहमा पनि च्याम्पियनशिप जितेका छन् । उनले एड्डी अल्भारेजलाई हराएर उक्त उपाधि जितेका थिए । एउटै ब्यक्ति यसरी दोहोरो उपाधि च्याम्पियन बनेर उनले इतिहास रच्न सफल भएका थिए । यसरी दुईवटा उपाधि एकै साथ जित्ने उनी यूएफसी इतिहासका पहिलो खेलाडी समेत हुन ।

म्याकग्रेगोरको नाममा यूएफसी फेडरवेट तौल समूहमा सबैभन्दा बढी नकआउटको रेकर्ड छ । उनको नाममा १९ वटा नकआउट जित दर्ता छ ।
म्याकग्रेगोरले मिक्स्ड मार्सल आर्ट्स (एमएमए) मा मात्रै होइन, प्रोफेसनल बक्सिङमा पनि विश्व च्याम्पियनशिपको चुनौती प्रस्तुत गर्दै सन २०१७ मा चर्चित अजय अमेरिकी मुक्केबाज फ्लोयड मेवेदरसँग बक्सिङ बाउट खेलेका थिए ।

म्याकग्रेगोर यूएफसी इतिहासमा सबैभन्दा धनी खेलाडीका रूपमा चिनिन्छ । उनले खेलेर तथा व्यवसायिक र विज्ञापनबाट पनि ठूलो रकम कमाएका छन् ।
म्याकग्रेगोरले यूएफसीको चाद मेण्डेससँगको भिडन्तमा ‘फाइट अफ द नाईट’ अवार्ड जितेका थिए ।

Source : https://newsofnepal.com/2024/11/18/678783/