राजदेवी मन्दिरमा भक्तजनको भीड

जनकपुरधामस्थित राजदेवी माता मन्दिरमा विशेष श्रद्धापूर्वक दशैं मनाइन्छ । आज नवरात्रको सातौं दिन माता रानीको ‘खोइछ’ भर्न र प्रसादी चढाउन मन्दिरमा ठूलो भीडभाड देखिएको छ ।

महिलाहरू हिजो दिउँसोबाटै ‘खोइछ’ भर्न सुरु गरिन् । तर अहिले पनि ‘खोइछ’ भर्ने महिलाहरूको भीड घटेको छैन । मन्दिरमा पूजापाठ गर्न महिलाहरूलाई हम्मेहम्मे परेको छ । बाहिरसम्म ठूलो लाइन छ ।

पति र सन्तानको दीर्घायुको कामना गर्दै महिलाहरू माता रानीको ‘खोइछ’ भर्ने चलन छ । ‘खोइछ’ भर्न हरेक शक्ति पीठमा महिलाहरूको भिड लाग्ने गर्छ ।

दुर्गा भगवतीको मन्दिरमा पुगेर प्रतिमाअगाडि बस्दै चोखो वस्त्र ओच्छयाउने गरिन्छ । त्यसमाथि पान, सुपारी, नरिवल, सिन्दूर, चुरा, केरा, स्याउसहितको फलफूल, विशेष प्रकारले बनाउने चिनीको लड्डु, चामललगायतका पूजा सामग्री राखिन्छ । त्यसपछि माताको स्तुति गर्दै पति र सन्तानको दीर्घायुको कामना गरिन्छ । यो विधिलाई नै ‘खोइछ भरेको’ मानिन्छ ।

आज विहानैदेखि प्रसाद चढाउन पुरुषहरूको पनि लाइन लागेको छ ।

आज साँझ ७ बजेबाट बोका बलि चढाइने आयोजक महाविर युवा कमिटीले जनाएको छ । यसवर्ष करिब २० हजार बोकाको बलि चढ्ने अनुमान गरिएको छ ।

The post राजदेवी मन्दिरमा भक्तजनको भीड appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/10/99715/