विद्यापति स्मृति दिवसः साहित्य रचनाहरुको थप खोज र अनुसन्धानको आवश्यकता

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विद्यापतिको स्मृतिमा चर्चा गर्दै विद्यापतिका अनेकन कविता, रचनाहरु रहेकाले यसबारे थप खोज र अनुसन्धानको आवश्यकता रहेको बताएका छन् ।

जनकपुरधाममा बुधबार विद्यापति स्मृति पर्व २०८१ को अवसरमा आयोजित कार्यक्रममा पूर्वउपप्रधान तथा गृहमन्त्री निधिले विद्यापतिका हरेक रचनाले सामाजिक परिवर्तन, शासकीय सुधार तथा राजनीतिक परिवर्तनको पक्षमा रहेको भन्दै त्यसबारे थप खोज र अनुसन्धान गर्न आवश्यक रहेको बताए । विद्यापतिको व्यक्तित्व तथा कृतित्वका विषयमा प्रवचन कार्यक्रममा नेता निधिले विद्यापति ब्राह्मण ठाकुर परिवारमा जन्म लिए पनि सामाजिक परिवर्तनका लागि भाषा एवं साहित्यलाई सर्वस्वीकार्य बनाउन सरल मैथिलीमा सयौँ रचनाहरु लेखेको स्मरण गरे ।

मैथिली साहित्यका कवि कोकिल, महाकवि, एवं साहित्यकार विद्यापतिको स्मृति दिवसको अवसरमा बोल्दै नेता निधिले विद्यापतिका रचनाको प्रभावका कारण काठमाडौँ उपत्यकाको प्रमुख कामकाज तथा बोलिने भाषाको रुपमा मैथिली भएको इतिहासले देखाएको बताए । अहिले विद्यापतिको रचना र महिमाको चर्चा नेपाल र भारतमा हुँदै आएको बताउँदै उनले भने, ‘ जतिबेला भारत र नेपाल भन्ने देश थिएन, त्यतिबेला देखि नै विद्यापतिको चर्चा हुँदै आएको छ ।’ नेता निधिले भने, ‘राजा र राजपरिवारलाई शासन गर्न प्रेरित गर्ने कुशल विज्ञको काम पनि विद्यापतिले गर्नु भएको छ ।’ उनले विद्यापतिलाई कविता, रचना र गीतकारका रुपमा मात्र स्मरण गरिए अपूर्ण हुने बताए ।

त्यस्तै साहित्यकार तथा लेखक रोशन जनकपुरीले विद्यापतिको समग्र व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै विद्यापतिको रचनाको प्रभाव मिथिला संस्कृतिमा मात्र नभई थारु, नेवारी, बंगाली, उर्दु, संस्कृति तथा अन्य भाषामा पनि रहेको बताए । साहित्यकार जनकपुरीले विद्यापतिलाई कुनै एकजाति विशेषभन्दा समाजिक अभियन्ता र समाज सुधारकको रुपमा अघि बढाउनका लागि सबैसंग आग्रह गरे । विद्यापति व्यापक भएको बताउँदै उनले देवता, जातिको घेराभन्दा बाहिर निकालेर उनको सर्वव्यापकताको प्रचारप्रसारको आवश्यकता रहेको बताए । महाकवि विद्यापतिले पाँच सय भन्दा बढी रचना लेखेका छन् ।

The post विद्यापति स्मृति दिवसः साहित्य रचनाहरुको थप खोज र अनुसन्धानको आवश्यकता appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/11/14/101151/