विपद्को सामनाका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्नेः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढीपहिरोले प्रभावितको उद्धार, राहत, पुनस्र्थापनासहितको कार्य सरकारले प्रभावकारी रूपमा गरिरहेको बताएका छन् । साथै, उनले विपद्को सामनाका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले हालै उत्पन्न विपद् जोखिम न्यूनीकरण र खोज, उद्धार तथा राहत वितरणका कामलाई व्यवस्थित गर्न गरेको ध्यानाकर्षणपश्चात् प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विपद् न्यूनीकरण र त्यसको सामना गर्न सबै पक्ष मिलेर अघि बढ्नुपर्ने र यस कार्यको अगुवाइ गर्न सरकार प्रतिबद्ध रहेको बताए । सरकारले संकटग्रस्त जिल्ला घोषणा गर्दै पीडितलाई छिटोभन्दा छिटो राहत, उद्धार, पनुस्र्थापनालगायतका काम गरिरहेको उनले बताए । बाढीपहिरोका कारण अवरुद्ध भएको यातायात, खानेपानी, विद्युत्लगायतका संरचना पनि निर्माण गर्ने काम सरकारले गरिरहेको प्रधानमन्त्री ओलीको प्रस्टोक्ति थियो ।

प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाउन पुगेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विपद्को पूर्वतयारी र विपद्पछि तत्काल खोज, उद्धार र राहतका काममा लाग्नुपर्ने र यसमा सबै पक्ष साझा दायित्वका साथ क्रियाशील हुनुपर्नेमा जोड दिए । उनले विपद् व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न आफ्नो पार्टी तयार रहेको पनि बताए ।

माओवादी केन्द्रले बाढी, पहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न आग्रह गरेको छ । माओवादीले तत्काल गरिनुपर्ने कार्य र नीतिगत सुधारका लागि गरिनुपर्ने कार्यको सूचीसमेत प्रधानमन्त्री ओलीलाई बुझाएको छ । तत्काल गर्नुपर्ने कामहरूमा बेपत्ताहरूको खोजी, उद्धार र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारमा जोड दिन माओवादी केन्द्रले माग गरेको छ ।

त्यस्तै, राहत वितरणको झन्झटिलो प्रक्रियालाई छोट्याएर स्थानीय तहसँग समन्वय गरी पीडित जनतालाई दसैंअघि नै राहत दिन, चिसोबाट कठ्याङ्ग्रिएर जनताको जिउधनको थप क्षति हुनबाट जोगाउन मंसिरभित्र अस्थायी आवासको व्यवस्था गर्न, बाढीग्रस्त क्षेत्रहरूमा स्वास्थ्य चेकजाँचलगायत खानेबस्ने उचित प्रबन्ध मिलाउन माओवादी केन्द्रले माग गरेको छ ।

त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताहरू सहभागी थिए ।

उद्धार कोषमा कांग्रेसको ५० लाख
यसैबीच, सत्तारूढ नेपाली कांग्रेसले दैवीप्रकोप उद्धार कोषका लागि ५० लाखको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको छ । कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले कोषका लागि ५० लाखको चेक हस्तान्तरण गरेको हो ।

प्रधानमन्त्री ओलीलाई भेटेर सभापति देउवाले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने काम’bout ३४ बुँदे सुझावपत्र तथा चेक हस्तान्तरणसमेत गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले कांग्रेसले प्राकृतिक विपत्तिको सामना सबै पक्षले एकताबद्ध भएर गर्नुपर्ने मुख्य भावनासहित दिएका सुझाव मननीय भएको बताए ।

उनले विपद्ले कुनै जात, उमेर र धर्म नभनी सबैलाई संकटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ गर्ने विश्वास व्यक्त गरे ।

कांग्रेसले विपद्को सामना मिलेर गर्न र भविष्यमा आउने विपद्को पूर्वतयारी गर्न एकता र एकताबद्ध भवनाका साथ लाग्न सरकारलाई आग्रह गरेको छ । सो अवसरमा गृहमन्त्री रमेश लेखक, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेता सहभागी थिए ।

एमालेद्वारा दैवीप्रकोप उद्धार कोषमा ५० लाख जम्मा
यसैबीच, प्रधानमन्त्री अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले दैवीप्रकोप उद्धार कोषमा लागि ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले सो रकमबराबरको चेक हस्तान्तरण गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपद्को सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए । उनले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको समेत बताए ।

एमालेको यही १५ असोजमा बसेको सचिवालय तथा संसदीय दलको बैठकले सो कोषमा ५० लाख र सांसदहरूको आधा महिनाको तलबबराबरको रकम बेग्लै प्रदान गर्ने निर्णय गरेको थियो ।

सो अवसरमा गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शंकर पोखरेल, उपमहासचि एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल, सचिव रघुवीर महासेठलगायतका नेताहरू सहभागी थिए ।

यसैबीच, आइतबार नै नेपाल निर्माण व्यवसायी विकास परिषद्ले पनि दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । परिषद्का अध्यक्ष एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री ओलीलाई चेकमार्फत सो रकम हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा विकास निर्माणका काम र विद्यमान कानुनी एवं अभ्यासका क्रममा देखिएका व्यावहारिक समस्या फुकाउने विषयमा समेत छलफल भएको थियो । प्रधानमन्त्री ओलीले पटकपटक छलफल हुने तर समस्या यथावत् रहने अवस्था अन्त्य गर्न निर्देशन दिएका छन् ।

The post विपद्को सामनाका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्नेः प्रधानमन्त्री ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101856/