विपद् उद्धारमा खटिएका इन्स्पेक्टर बडूवालको निधन

काठमाडौँ । विपद्पछि उद्धार र राहत वितरणमा निरन्तर खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडूवालको निधन भएको छ । एपीएफ अस्पताल बलम्बुमा आज बिहान उनको निधन भएको हो ।

विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रेको पनौती नगरपालिका-५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन बेस स्थापना गरेको थियो । साउन ३ देखि उनी सोही बेसको कमान्डर थिए ।

पछिल्लो पटक असोज ११ देखिको झरीले काभ्रेको विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्धारका लागि उनको कमान्डमा टीम खटिएको थियो । सो बेसबाट काभ्रेको रोशी, भूमिडाँडा, बेथानचोक, नार्केबजार, मंगलटार, कालढुंगा, बाल्टिङलगायतका स्थानमा उनको कमान्ड परिचालित थियो ।

इन्स्पेक्टर बडुवाललाई ज्वरोलगायतका समस्या देखिएपछि असोज २६ गते एपीएफ अस्पताल बलम्बुमा भर्ना गरी उपचार भइरहेकोमा सोमबार बिहान निधन भएको सशस्त्र प्रहरी संगठनले जनाएको छ । बर्दिया घर भएका बडुवाल २०६० सालमा असईबाट सेवा प्रवेश गरेका थिए ।

The post विपद् उद्धारमा खटिएका इन्स्पेक्टर बडूवालको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102228/