विपिन कार्की : नाटकदेखि भस्मे डनसम्म
अभिनेता विपिन कार्कीलाई नेपाली सिने क्षेत्रमा भर्साटाइल एक्टरको रूपमा चिनिन्छ। अभिनयको दुनियामा छुट्टै स्थान बनाउन सफल विपिन रङ्गमञ्चबाट फिल्ममा प्रवेश गर्ने कलाकार हुन्। फिल्ममा एकपछि अर्को गर्दै फरकफरक भूमिकामा देखिने उनको आगामी फिल्म कस्तो होला भनेर दर्शक जहिले पनि प्रतिक्षारत हुन्छन्।
-मोरङबाट २०५६ सालमा काठमाडौं आएका विपिन आरआर क्याम्पस भर्ना भएका थिए। २०५९ सालमा गुरुकुलमा नाटक हेर्न जाने क्रममा नाटकप्रति आकर्षित भएका उनी पछि सोही नाटकघरसँग आबद्ध भएर त्यहीँको विद्यार्थी बनेका थिए।
-गुरुकुलको होस्टलमा बसेर गुरु सुनील पोखरेललगायत विदेशी गुरुहरूका साथ अभिनय सिक्दै र नाटक खेल्दै गर्दा विपिनले त्यहाँ आउने दर्शकको टिकट जाँच गर्ने, सिट मिलाउने, कलाकारहरूलाई खाजाको व्यवस्था गर्नेदेखि प्राविधिक पाटो सम्हाल्नेसम्मका काम गरेका थिए। कचहरी नाटकबाट अभिनय करिअर सुरु गरेका उनले नाटकमा सानोतिनो रोल पाउने गर्थे।
-आफूले पाउने गरेको रोल चित्त नबुझेर विपिन गुरुको नजरमा पर्नका लागि ठूला रोल भएका कलाकारहरूको डाइलग कण्ठ गरेर सुनाउने गर्थे। यसोगर्दा गुरुले आफूलाई प्रमूख भूमिका देलान् भन्ने उनको आशा रहन्थ्यो। एक पटक त उनलाई सुनीलले तैंले अभिनय गरेर खाँदैनस् पनि भनेका थिए, तर अहिले उनै सुनील विपिनलाई बेस्ट अभिनेता भन्ने गर्छन्।
-उनी फिल्म आचार्यमा सानो रोलमा देखिएका थिए भने त्यसपछि फिल्म लुट खेलेका थिए। पछि उनले फिल्म छड्केमा अभिनय गरे। सो फिल्म राम्रोसँग नचले पनि उनी दर्शकको नजरमा पर्न भने सफल भए। फिल्म पशुपति प्रसादमा खेलेको भस्मे डनको चरित्रपछि भने उनले निकै लोकप्रियता कमाए। उनी दर्शकमाझ वास्तविक नामभन्दा पनि भस्मे डनका नामले चिनिन थाले। उनले पूर्ण रूपमा अभिनेताको रूपमा खेलेको पहिलो फिल्म जात्रा हो। जात्रामा फणीन्द्र तिमल्सिनाको रूपमा अभिनय गरेका उनको सो फिल्म निकै सफल भयो। उनको फिल्म हरिमा हरिको चरित्र, फिल्म पशुपति प्रसादमा भस्मे डनको चरित्र, फिल्म नाकामा गोल्डी डनको चरित्र रहेका छन्। उनले फिल्म भगवत गितामा तेस्रो लिङ्गी महिलाको भूमिका निर्वाह गरेका थिए।
-विपिनको आफ्नो चरित्रका लागि निकै मिहिनेत गर्ने बानी छ। फिल्म कालोपोथीमा रुकुमको दलित व्यक्तिको रूपमा खेल्दा एक दलित परिवारसँगै बसेर दशैं र तिहार पनि मनाएका थिए। उनी त्यहाँको दलित युवासँग दमाहा बजाउँदै मुगुका लुवाइखुवाइ र लवजमा बोल्ने गर्थे। सोही क्रममा त्यहाँको चिया पसलमा चिया खान भित्र पस्दा पसलका साहुजीले उनलाई दलित सम्झिएर बाहिर निकालेका थिए।
-नकरात्मक होस् या सकरात्मक हरेक पात्रमा डुबेर अभिनय गर्ने र त्यसका लागि कडा मिहिनेत गर्ने बानीका कारण विपिनले दर्शकको नजरमा छुट्टै स्थान हासिल गरेका छन्। उनी कथावस्तु मन नपरेसम्म हतपत फिल्ममा साइन गर्दैनन्।
-गोपी, सेल्फी किङ, प्रसाद, लालपुर्जा, प्रसाद २ लगायत फिल्मसँगै उनले हरियो ढुंगा, रसोमन, अनुपस्थित तीन, सेतो कपालजस्ता दर्जनौं नाटकमा अभिनय गरिसकेका छन्। उनका दाइ अर्जुन कार्की पनि पुराना अभिनेता हुन्।